
पोखरा पर्यटन व्यवसायी महिला संगठित भएका छन् । आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला सहभागिता भन्ने उद्घोषका साथ आयोजित पर्यटन व्यवसायी महिलाको वृहत भेलाले जमुना पराजुलीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
पर्यटन व्यवसायी महिला मञ्च नामाकरण गरिएको सो समितिको प्रथम र द्धितिय उपाध्यक्षमा पार्वती पाण्डे र रेनु थापा सचिवमा उमा भण्डारी सह सचिवमा ममता न्यौपाने,कोषाध्यक्ष कान्ती अधिकारी सह–कोषाध्यक्ष लक्ष्मी लामिछाने र सदस्यहरुमा शर्मिला न्यौपाने, शारदा भुजेल, मुना पौडेल, प्रभा सुवेदी, कमला गुरुग, माया सुवेदी, नितु थापा गौतम, भावना रानाभाट, उमा काफ्ले, मञ्जु कार्की रहेका छन् ।
यसअघि भेला तथा तिज विषेश कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चलका प्रमुख नितु गर्तौलाले व्यवसायमा महिलाको सहभागिताले आर्थिक समृद्धि हासिल गर्ने बताइन् । उनले व्यवसायलाई आर्थिक लाभको रुपमा मात्र नहेरी मानव अधिकार मैत्री व्यवसायको रुपबाट लिदै सामाजिक उत्तरदायित्व पुरा गर्नुेपर्ने बताए ।
अग्रज पर्यटन व्यवसायी लक्की कार्कीले पर्यटन ब्यवसायि महिला संगठित भएर अघि बढ्नु निकै सकारात्मक भएको भन्दै पर्यटन क्षेत्रको विकासमा महिलाको योगदानलाई विर्सन नहुने बताइन् । कार्यक्रममा महिला नेतृ एवम समाज सेवी देवका पहारी, पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य गोमा ढकाल , राष्ट्रिय सौन्दर्यकर्मी युनियनका अध्यक्ष पम्फा पहारी, सामुदायिक प्रहरी सेवा केन्द्र वैदामका हिरु पुन, पर्यटन व्यवसायी मन्धरा ढकाल, मिना भट्टराई, दुर्गा ढकाल लगायतले एकतामा बल हुने भन्दै पर्यटन ब्यवसायमा आवद्ध महिलाहरु संगठित भएर अगाडि बढ्नु सुखद भएको बताए ।
कार्यक्रममा शर्मिला न्यौपाने , उमा भण्डारी लगायतले बोलेका थिए । नव निर्वाचित अध्यक्ष पराजुलीले पर्यटन क्षेत्रको विकास सँगै सामाजिक उत्तरदायित्व बहन गरेर व्यवसायि महिलाको विकासमा आफ्नो नेतृत्वले काम गर्ने प्रतिवद्धता ब्यक्त गरिन् ।
Leave a Reply