
काठमाडौं, १९ साउन । नेपाल पर्यटन व्यवसायी संगठनले नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचनको विषयसँग जोडेर माओवादी केन्द्रका कार्यलय सदस्य तथा पर्यटन विभाग इन्चार्ज लोकेन्द्र विष्ट मगरको व्यक्तिगत चरित्र हत्या हुनेगरी प्रचारबाजी भएको भन्दै आपत्ति जनाएको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै संगठनले केही अनलाइनहरुमार्फत पूर्वमन्त्रीसमेत रहेका विष्टलाई गम्भिर आरोप लगाएको संगठनले जनायो ।
विज्ञप्तीअनुसार केही अनलाइनहरुले विष्टले हेडक्वार्टरको आदेशसमेत ठाडो उल्लंघन गर्दै मनोपली रुपमा लाग्दा पार्टीनिकट पर्यटन व्यवसायीहरुभित्र आन्तरिक द्धन्द सिर्जना भएको भावको अनुमानित समाचार सम्प्रसन भएको थियो ।
‘एनएमएको निर्वाचन मिति तय भएसँगै हाम्रो संगठनको बैठकबाट एक कार्यदल गठन गरिएको र त्यसैमार्फत उम्मेद्धारहरुको प्रस्ताव गरेपछि त्यसलाई सर्वसम्मत पारित गर्दै नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनसँग औपचारिक रुपमा दुईपक्षीय सहमति गरी सन्तबीर लामा नेतृत्वका प्यानल घोषणा गरिएको हो । यो कुरा घाम र पानीजस्तै छर्लंगै छ । यो कुरा माइन्युटले पनि पुष्टि गर्दछ । तसर्थ, हाम्रा इन्चार्ज क. लोकेन्द्र विष्टको दबाबपछि सन्तबीर लामा नेतृत्वको प्यानल बने, पार्टीभित्र तिक्तता आएको जस्ता निरर्थक, भ्रामक र विनातुकका प्रचार गर्ने निकृष्ठ गतिविधिको घोर भत्सर्ना गर्दछौं’ संगठनका संयोजक नवराज दाहालद्धरा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
आफ्नो सीमित स्वार्थपूर्तिका लागि धमिलो पानीमाथि माछा मार्ने केही पर्यटन माफियाहरुको सक्रियतामा यस्तो गतिविधि भइरहेको दाबी संगठनले गरेको छ । सन्तबीर लामा पक्षको एकताबद्ध शक्ति देखेर आतंकित भएर यस्तो प्रचारबाजी गरिएको दाबीसमेत उसको छ ।
‘यतिसम्मको हर्कत गर्नु संगठन र सिंगो पर्यटन क्षेत्रमाथिको प्रहार हो भन्ने हाम्रो ठम्याइ रहेको छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ‘पत्रकारको नाउँ भिरेर ती त्यस्ता माफियाहरुको अरौटे भरौटे भई पत्रकारिताको सट्टा पर्चारिता गर्ने ती अनलाइनहरुलाई यो समाचारलाई पुष्टि गरेर देखाउन चुनौति छ ।’
संगठनले सत्य, तथ्य विना हावाको भरमा यस्तो सामाचार लेखेर पत्रकारिताको नाममा पर्चाकारिता गरेर मुलुक समग्र पर्यटन क्षेत्र पनि आजित बनाउने काम गरेको भन्दै दोषीलाई अभिलम्ब कारबाहीको मागसमेत गरेको छ ।
यसलाई घटिया सोचको उपजको संज्ञा दिदै संगठनले विज्ञप्तीमार्फत भनेको छ ‘एनएमएका आम मतदाताहरुलाई यस खालको गलत नियतबाट सचेत रहन आग्रह गर्दछौं र एनएमएको निर्वाचनमा निर्धक्क भएर स्वतन्त्र र समावेशी आरोही र व्यवसायीहरुको प्यानल सन्तबीर लामाको सम्पूर्ण टिमलाई अत्याधिक मत दिई विजय गराई वर्षौदेखि आलोपालो नेतृत्वका कारण धारासायी बनेको एनएमएको गरिमा बढाउने सामुहिक अभियानमा सहकार्य गर्नको लागि विनम्र अनुरोधसमेत गर्दछौं ।
Leave a Reply