
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वरिष्ठ पाइलट, वरिष्ठ प्रशिक्षकदेखि वरिष्ठ को पाइलटसम्म विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । निगमले बिहीबार सार्वजनिक सुचना प्रकाशित गर्दै उडानका लागि आवश्यक २० जना पाइलट माग गरेको हो । निगमले वरिष्ठ पाइटल र वरिष्ठ प्रशिक्षक पाइलट पदमा ४ जनाबाट आवेदन माग गरेको छ ।
९ औँ तहको उक्त करार पदका लागि नागरिक उड्ययन प्राधिकरणबाट प्रशिक्षकको प्रमाणपत्र पाएको हुनुपर्ने र ३५ सय घण्टासम्मको उडान अनुभव हुनुपर्ने योग्यता निगमले तोकेको छ । त्यस्तै ८ औँ तहको फ्लीट क्याप्टेन पदमा ४ जना पाइलट निगमले माग गरेको छ । करार सेवाको यो पदका लागि सिङल तथा मल्टि इन्जिनका जहाज १५ सय घण्टा उडान गरेको अनुभव हुनुपर्नेछ ।
निगमले पाँच सय घण्टा उडान अनुभव सहितको ४ जना जुनियर क्याप्टेन र ७ औँ तहमा पाँच सय घण्टा नै उडान अनुभव भएको ८ जना सिनियर कोपाइलट माग गरेको छ । निगमका अनुसार ईच्छुकले अबको (साउन १२ गते बिहीबार) देखी १५ दिनभित्र आवेदन फारम निगममा बुझाउनु पर्नेछ ।
पाइलट अभावका कारण उडानमा समस्या भोग्दै आएको निगमले ठूलो सङ्ख्यामा पाइलट माग गरेको हो । उडान विस्तार र जहाज थपको समेत प्रक्रियामा रहेका कारण निगमलाई पाइलट आवश्यक रहेको बताइएको छ । निगमले हालै मात्र पाइलटहरुको तलबमा वृद्धि गर्दै औषत ६ लाख रुपैयाँ पुर्याएको थियो ।
Leave a Reply