August 9, 2022

”अन्नपूर्ण आधारशिविर” (एबिसी)मा दक्षिण एसियाका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन

साउन ११ पोखरा  :

विश्वकै १० उत्कृष्ट पदमार्गमध्येमा पर्ने ‘अन्नपूर्ण आधारशिविर (एबिसी) मा दक्षिण एसिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

पर्यटन मन्त्रालयको तर्फबाट नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९ को बुँदा ६८ मा ‘एबिसी’मा दक्षिण एसिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न पहल गर्ने उल्लेख छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले ४ हजार १ सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिकरुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो ।

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा सगरमाथा आधारशिविर नजिक पाँचहजार दुइसय मिटरको उचाईमा अवस्थित कालापत्थरमा मन्त्रीपरिषद् बैठक बसेको थियो। जलवायु परिवर्तनको एजेन्डा बोकेर २०६६ मंसिर १९ गते सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। कालापत्थरकै शैलीमा एबिसीमा पनि पर्यटनमन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा ठुलो सघाउ पुग्ने नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछानेले बताए।

कार्ययोजनामा सरकारले ‘एबिसी’मा गरिने सम्मेलनका लागि नेपाल पर्यटन बोर्डलाई मुख्य जिम्मेवार निकायको रुपमा तोक्दै ४ महिनाभित्र सम्मेलन गर्ने उल्लेख गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भनेको अन्नपूर्ण आधार शिविर समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा छ ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*