August 9, 2022

पर्यटक बसपार्क सहित ६८ रोपनी सरकारी जग्गा भाडामा

असार २० पोखरा :   स्थानीय तहको निर्वाचनको मतगणना चलिरहेको बेला पोखरा महानगरका निवर्तमान मेयर मान बहादुर जिसीले पर्यटक बसपार्क सहित ६८ रोपनी सरकारी जग्गा ठेक्का लगाएको पाइएको छ ।

जिसीले आफैंले हस्ताक्षर गरेर पोखरा उपत्यका नगर विकास समितिको स्वमित्वमा रहेको गल्फ कोर्स रहेको ४५ रोपनी, पर्यटक बसपार्कको १८ रोपनी र यस अघि यातायात व्यवस्था कार्यालयले सञ्चालन गरेको सवारी ट्रेनिङ सेन्टरको करिब ५ रोपनी गरी जम्मा ६८ रोपनी जग्गा १० वर्षका लागि ठेक्कामा लगाएको पाइएको छ । उक्त जग्गा मेयर जिसी आफैंले सम्झौता गरेर जेठ ३ गते ठेक्का लगाएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि जेठ ५ गते उनको कार्यकाल सकिँदै थियो । जेठ ११ गतेमात्र पोखरामा धनराज आचार्य निर्वाचित भएका हुन् । पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पनि मेयर हुने व्यवस्था छ । २०७५ चैतअघिसम्म नगर विकास समितिको अध्यक्ष राजनीतिक नियुक्तीबाट हुने व्यवस्था थियो । नगर विकास ऐन २०४५ संशोधन गर्दै सरकारले समिति गठन व्यवस्था फेर्दै मेयर नै अध्यक्ष हुने व्यवस्था गरेको हो ।

हालै निर्माण सम्पन्न भएर महानगरलाई हस्तान्तरण समेत नभएको पर्यटक बसपार्क शिला शालिग्राम निर्माण सेवालाई भाडामा दिइएको छ । शिला शालिग्राम निर्माण सेवा प्रा।लिका तर्फबाट छबिलाल कुँवर र समितिका तर्फबाट अध्यक्षसमेत रहेका पूर्व मेयर जिसीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

१८ रोपनी जग्गा भाडामा लिएबापत शिला शालिग्रामले महानगरलाई २ लाख ७५ हजार रुपैयाँ मासिक बुझाउने सम्झौता छ । यतिसम्मकी कम्पनीले बसपार्कमा कति शुल्क उठाउँछ र ठेक्कामा लिएपछि उसले केके काम गर्छ भन्नेसमेत सम्झौतामा उल्लेख छैन ।  हचुवाको भरमा पर्यटन बसपार्क निजी कम्पनीलाई ठेक्कामा दिइएको भन्दै पर्यटन व्यवसायीले समेत बिरोध गरेका छन् ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*