June 29, 2022

अरुले धारो दिए, हामी पानी दिन्छौँ : गठबन्धन

पोखरा, २२ वैशाख

पोखरा २८ का घर घरमा धारा छन् तर खानेपानी छैन । यस्तो अवस्था यहाँमात्र होइन, महानगरका धेरै वडामा छ । सत्ता गठबन्धनका उम्मेदवारले बिहीबार पोखरा २८, ३१ र ११ का नागरिकबाट खानेपानीसँगै सडक, स्वास्थ्य, सेवा प्रवाह आदिमा भएका समस्या सुने । पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले महानगरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै आफूहरुले जितेमा यही कार्यकालभित्रै समस्या समाधान गर्ने योजना सुनाए । उनले भने, ‘भइरहेका योजना सुधार, नयाँ योजना सञ्चालन, लिफ्टिङ, बोरिङ जस्ता उपाय अपनाएर भए पनि नागरिकलाई खानेपानी दिनैपर्छ । खानेपानी, बाटो, सडक, स्वास्थ्य, शिक्षाको प्रबन्धै नभएको कसरी महानगर हुन्छ ?’ उनले एउटा परिवारलाई हरेक महिना ५ हजार लिटर पानी सित्तैमा उपलब्ध गराउने प्रतिवद्धतासमेत गरे । आफूहरुले जितेमा एकै कोठाबाट नागरिकलाई सबै सेवा दिने उनको प्रतिवद्धता थिए । उनी भन्छन्, ‘नागरिकलाई महानगरको आभास दिलाउन पनि यो जरुरी छ । हामी गफ गर्दैनौं, ३ महिनाभित्रै यस्तो सेवा सुरु गर्छाैं ।’ उनले आफूहरुले पद बहाली गरेकै दिनदेखि अत्यावश्यक सिफारिस निःशुल्क गरिने प्रतीज्ञा गरेका छन् ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले महानगरमा पछि थपिएका वडामा खानेपानी र सडककै मुख्य समस्या रहेको उल्लेख गर्दै आफूहरुले योजनावद्ध रुपमा ती समस्या समाधान गर्ने सुनाइन् । पोखरालाई युग सुहाउँदो आधुनिक सहर र त्यस अनुरुपमा पूर्वाधार र विकास, निर्माण नै आफूहरुको अर्जुनदृष्टि भएको उनको भनाइ छ ।

पोखरा २८ को ओख्ले, आरुपाटा, डाँडा गाउँ, देउमाडी, माझठाना लाम्चे, सौर्य लगायतका अधिकांश भेगमा पानीको हाहाकार भएको उल्लेख गर्दै आचार्यले खानेपानीसँगै पर्यटन पूर्वाधारको विकास गर्ने जिम्मेवारी पूरा गर्ने आश्वासन दिए । उनले विगतका मेयर। उपमेयरले विकासको आयोजना आफ्नो वडामा मात्रै केन्द्रित गरेको दाबी गरे । विगतमा घोषणा पत्रमा भएका विषयलाई पालना नगरेकै कारण पोखराको विकासपछि परेको उनको आरोप छ । महानगरको नेतृत्व असक्षम र जनताप्रति इमानदार नभए महानगर लथालिंग हुने उनको भनाइ त । उनले भने, ‘हामी घोषणापत्रको अक्षरशः पालना गर्नेछौं । यसअघि घोषणापत्र पालना नगरेकै कारण आज यो अवस्था आएको हो ।’

पोखरा ३१ मा अवस्थित बेगनासतालको विकास योजनावद्ध रुपमा गरिने उनको भनाइ छ । ‘पोखरा फेवातालको सहरमात्र नभई बेगनास र रुपातालको सहर पनि हो’, उनले भने, ‘हिजोको सरकारले पोखरा ३१ लाई उपेक्षा ग¥यो, हामी गर्ने छैनौं । ३१ मा विकासको लहर ल्याउन गठबन्धनलाई जिताऔं ।’ उपमेयरकी उम्मेदवार रानाभाटले गठबन्धनको नेतृत्वमा नै पोखरा महानगरले मुहार फेर्ने बताइन् । लामोसमयदेखि कालिका, माझठाना पूर्वाधार विकासको दृष्टिकोणबाट पछाडि परेको उल्लेख गर्दै उनले पाखा, पखेरा र टोल टोलको विकास गठबन्धनले नै गर्ने प्रतिबद्धता गरिन् ।

कांग्रेस कास्की सभापति किशोरदत्त बरालले विकासका लागि राजनीतिक नाराको पछि लागेर नहुने बताए । उनले ५ वर्षमा राजनीति नाराको पछि लाग्दा स्थानीयले पाउनुपर्ने विकास नपाएको तर्क गरे । देशको लोकतन्त्र खतरामा पर्दा ५ दल मिलेर रक्षा गरेकाले गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले संविधान जोगाउन र प्रतिगमन अन्त्य गर्न गठबन्धन गरेको सुनाए । ‘विगतमा हामीले दुईतिहाई मत पायौं तर घोषणापत्र अनुसार काम हुन सकेन’, उनले भने, ‘ हामीले किन विद्रोह ग¥यौं ? पार्टीमा हामीले समस्याका कुरा उठायौंं तर राम्रो कुरा नसुन्ने । सही कुरा गर्दा बेवास्ता गरियो त्यसैले गठबन्धन ग¥यौं ।’ अब प्रदेश र संघमा पनि गठबन्धनबाटै जानुपर्ने उनको मत छ ।

कांग्रेसकी महासमिति सदस्य सरस्वती गुरुङले आफ्नै पार्टीले अनावश्यक दबाब दिएर मानबहादुर जिसी अस्वस्थ भएको दाबी गरिन् । जिसीको स्वास्थ्य लाभको कामना गर्दैै उनले स्वस्थ हुँदा पनि कुनै देखिने गरी काम गर्न नसकेको उनले टिप्पणी गरिन् । मेयर जिसीले आफ्नै वडाको विकास नगरेका कारण पनि यस पटक गठबन्धनले नेतृत्व लिनैपर्ने उनको तर्क छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*