
भारतवाट आएको कोरोना तरकारी आँखा चिम्लेर हसुर्ने !
आफ्नै देशको ताजा तरकारी खाडल खनेर पुर्ने !!
जेष्ठ २० पोखरा: तरकारी तथा फलफूलबाट कोरोना सर्ने अहिलेसम्म संसारमा कुनै पनि अध्ययनले देखाएको छैन । तर, नेपालमा चाहिँ कोरोना सार्न सक्ने भन्दै किसानले दुःख गरी उब्जाएका तरकारी-फलफूल नष्ट गर्ने सिलसिला चलिरहेको छ, त्यो पनि सरकारी निकायहरूकै रोहवर तथा टोले नेताको आग्रहमा ।
स्थानीय तह तथा जिल्ला प्रशासनले नै तरकारी -फलफूलका ट्रकलाई नियन्त्रणमा लिँदै नष्ट गराउन थालेका हुन् । जबकि भारतबाट आयातित तरकारी -फलफूल भने निर्बाध उपभोक्ताको भान्सासम्म पुगिरहेका छन् ।
दुःख गरेर उब्जाएका तरकारी दुई रुपैयाँ किलोमा पनि बिक्री हुन छाडेपछि किसानहरू आफ्नो उत्पादनमाथि ट्याक्टर चलाएर नष्ट गर्न थालेका छन् । चितवन, काभ्रे, कपिलवस्तु र रुपन्देहीको कृषकहरू उत्पादित तरकारी नबिकेर रोइकराई गरिरहेका बेला अर्घाखाँची र कास्की जिल्लामा भने स्थानीय तह र जिल्ला प्रशासनकै संलग्नतामा हरियो तरकारी तथा फलफूलहरू नष्ट गर्ने अभियान चलाइएको छ
अर्घाखाँचीको सन्धिखर्कमा एक ट्रक हरियो तरकारी नष्ट गरियो । कपिलवस्तुको बुद्धभूमिबाट बिक्रीको लागि लगिएको हरियो तरकारी जिल्ला प्रशासन कार्यालयले बिक्री गर्न रोक लगाएपछि नष्ट गरिएको हो ।कोरोना रोकथाम गर्ने सर्वपक्षीय बैठकले गरेको सहमति बमोजिम छिमेकी जिल्लाबाट तरकारी तथा फलफूल भित्र्याउन रोकिएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए ।
‘कास्कीमा ६ ट्रक तरकारी र फलफूल पुरियो
कास्कीको पोखरा महानगरपालिका १५ का स्थानीयले जेठ १५ गते तरकारी र फलफूल बोकेका ६ वटा ट्रक नियन्त्रणमा लिए । काभ्रे, चितवनलगायतका जिल्लाबाट बिक्रीका लागि लगिएको गोलभेडालगायतका तरकारी उनीहरूले राति २ बजे नियन्त्रणमा लिएका थिए । बिहान वडा प्रमुख, प्रहरी र स्थानीय डोजरले खाल्डो खनेर उक्त तरकारी तथा फलफूल नष्ट गरे । तरकारी ओसार पसार गर्दा कोरोना जोखिम उच्च भएकाले नष्ट गरिएको पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश पौडेल बताउँछन् ।
पृथ्वीचोकमा रहेको बास्तोला स्टोरमा तरकारी पसल चलाउँदै आएका हरि गौतमले ल्याएका तरकारी कास्कीमा नष्ट गरिएको थियो ।
तरकारी-फलफूलबाट कोरोना सर्छ ?
कोरोना सर्ने भन्दै तरकारी र फलफूल नष्ट गर्ने अभियान चलाउनु स्थानीय तह र जिल्ला प्रशासनको अज्ञानता भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बताउँछ । विश्वभर अहिलेसम्म तरकारी र फलफूल तथा खाद्यान्नका कारण कोरोना सरेको वा सर्न सक्ने कुनै वैज्ञानिक प्रमाण नभएको विभागकी महानिर्देशक डा। मतिना जोशी वैद्यले बताइन् ।
भारतबाट निर्बाध आयात
लकडाउनका बीच पनि भारतलगायतका मुलुकबाट भने तरकारी, फलफूल र खाद्यान्न आयात निरन्तर छ । खाद्यवस्तु तथा तरकारीबाट कोरोना सर्ने वैज्ञानिक कारण नपाइएपछि सरकारले आयात खुल्ला गरेको हो ।
Leave a Reply