
माघ १८ पोखरा :
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको खोप्रा लेक क्षेत्रमा बाटो बिराएर हराएका चार जना पदयात्रीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । खोप्रा लेकदेखि नारच्याङ बेशी गाउँ जाने क्रममा बिहीबार दिउँसोदेखि हराएका उनीहरु शनिबार दिउँसो अन्नपूर्ण ४ को रेलेखर्कबाट सिम्रिक एयरले उद्धार गरेको हो ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल म्याग्दी जिल्लाका प्रहरी प्रमुख प्रहरी नयाव उपरीक्षक किरण जंङ्ग कुवर, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकासकुमार माझी र स्थानीयबासीको पहलमा सिम्रिक एयरको हेलीकप्टरको रेस्कियु टोलीले उद्धार गरेर नारच्याङ बेशीगाउँ ल्याइएको छ । कैलालीको गेटा नगरपालिका ६ का २४ वर्षीय सुमन भट्ट, दोलखा चरिकोट ५ का २३ वर्षीय सञ्जित लामा, सर्लाही बरहतवा ४ का २४ वर्षीय अंकित शाह र २४ वर्षीय अविशेक महतो खोप्रादेखि नारच्याङ आउने क्रममा हिमपात भएपछि हराएका थिए ।
‘सुरक्षाकर्मी, गाउँले र गोठालाहरुको टोलीले फेला पारेपछि हेलीकप्टर मगाएर सकुशल उद्धार गरेका छौ,’ प्रजिअ ढकालले भने ‘शुक्रबार दिनभर खोजी गरि ठाउँ पत्ता लगाएपछि शनिबार हेलीकप्टर मगाएर उद्धार गरेका हौ।’
उनीहरुले बिहीबार साँझ फोनमार्फत आफूहरु हराएको स्थानीय प्रशासन र प्रहरीलाई जानकारी गराएका थिए। मोवाइलमा कुरा भएपनि कहाँ छन् भन्ने पत्ता लाग्न सकेको थिएन् । टेन्ट र सुख्खा खानेकुरा साथै भएकाले उनीहरु सुरक्षित बसेका थिए। दुई जना डाक्टर र दुई जना इञ्जिनियर हुन् । उनीहरु खोप्रा लेकको सामुदायिक लजमा खाना खाएर नारच्याङतर्फ हिँडेलगत्तै हिउँ पर्न सुरु भएको थियो। पदथप्रर्दशकबिनै पदयात्रामा आएका थिए। घना जंगल, भीर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई थियो ।
खोप्रा क्षेत्रमा जंगल र भीर छ । मानव वस्तीदेखि टाढा छ । २०७२ बैशाखमा घोडेपानीदेखि खोप्रा जाने क्रममा हराएका एक जना मलेसियन पर्यटक अझै भेटिएका छैनन् ।
Leave a Reply