
मंसिर ०५ पोखरा:
पोखरामा स्काइडाइभिङ नामक साहसिक खेल शुरु भएको छ । एक्स्पलोर हिमालय कम्पनीले सञ्चालन गरेको खेललाई पोखरा स्काइडाइभिङ २०१९ नाम दिइएको छ ।
हेलिकोप्टरबाट हाम फालेर प्यारासुटबाट ओर्लिने खेल स्काइडाइभिङ हो। हिमाल आरोहणपछिको सबैभन्दा महँगो र साहसिक मानिने स्काइडाइभिङ पोखराको पामे क्षेत्रमा रहेको एभिया क्लबको हवाई खेलकुद अभ्यास मैदानमा भएको हो ।
‘फ्लाई हाई, टच द स्काई’ नाराका साथ फेवा तालको सिरानमा अवस्थित खालि जमिनको आकाशमा यो कार्यक्रम भइरहेको र नेपाल र भारतका १ सय ६० जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
यसका अतिरिक्त साहसिक खेलको शहरका रूपमा पनि पोखरा परिचित छ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएयर बेलुन, जिप फ्लाएर, बन्जी जम्प, बोटिङजस्ता खेलले समेत पछिल्लो समय साहसिक खेलप्रेमीको उत्कृष्ट गन्तव्य पोखरा बन्दै गएको छ ।
भ्रमण वर्षलाई सफल पार्न र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि यस्ता साहसिक खेलका गतिविधिले भूमिका निर्वाह गर्ने तथा पोखरालाई चिनाउन थप मद्दत पुग्ने विश्वास छ ।
Leave a Reply