
असार २७ काठमाडौं:
यती एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको छ ।
नेपालगञ्जबाट आएको फ्लाइट नं. एनवाइटी-४२२ एटीआर ७२–५०० सो जहाजमा ३ जना चालक दल सदस्यसहित ६६ जना यात्रु थिए । २ जना शिशु समेत सवार यतिले जनाएको छ ।
सबै सकुशल रहेको कम्पनीले दाबी गरेको छ। विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजमा चढेर आएका दुई जना घाइते भएका छन् । अन्य यात्रुलाई सकुशल उद्धार गरिएको छ ।
करिब ११ बजे ९एन- एएमएम कसाइन भएको जहाज चिप्लिएपछि विमानस्थलमा रहेका ३ वटा दमकल परिचालन गरिएको उनले बताए । अहिले थप उद्धार कार्य भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान–अवतरण ठप्प
चिप्लिएको जहाज धावनमार्गमै रहेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण ठप्प भएका छन्।
काठमाडौंतर्फ आइरहेका अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएका छन् । दुबईबाट आएको नेपाल एयरलाइन्सको ९ एन एएलवाई जहाज दिल्ली डाइभर्ट गरिएको छ । दिल्लीबाट आएको रोयल भुटान एयरलाइन्सको जहाज थिम्पुस्थित पारो डाइभर्ट भएको छ । बैंककबाट आएको थाइ एयरवेजको टीजी ३१९ उडान ढाका डाइभर्ट गरिएको छ ।
यो बाहेक करिब दर्जन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् । धावनमार्गमा रहेको जहाज हटाउन प्रयास भइरहेको छ ।
Leave a Reply