
मंसिर, १४ पोखरा
“सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने नारासहित अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा यस वर्ष पनि सडक महोतसव हुने भएको छ । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन रेवान पोखराको आयोजनामा आगामी पुष १३ गतेदेखि १७ गतेसम्म अंग्रेजी नयाँ वर्षको स्वागतार्थ २० औं संस्करणको सडक महोत्सव हुने भएको हो ।
अगेंजी नयाँ बर्षको गन्तव्य स्थल बनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष भीमसेन भुजेलले बताए । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामीण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको उनले प्रष्ट्याए ।
महोत्सव पोखराको शहीदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा हुने रेवानले जनाएको छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत आकर्षणका रुपमा रहने अध्यक्ष भुजेलले जानकारी दिए ।
त्यस्तै सडक महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको लाइभ कन्सर्ट, लोकदोहोरी प्रस्तुति, हास्य प्रहसनलगायतका कार्यक्रम पनि राखिने रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए । महोत्सवको अवसरमा जापान, चीन, कोरिया र भारतबाट सांस्कृतिक कार्यक्रम ल्याउने प्रयास भइरहेको उनले बताए ।
सडक महोत्सवले नेपालमा रहेका विदेशी पनि क्रिसमस र नयाँ बर्ष मनाउन भारतको गोवा जाने प्रचलनलाई रोकेर नेपालमै बस्ने वातावरण बनाएको रेवान पोखराका सल्लाहकार तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले बताए ।
सडकमै खानाका परिकार तथा स्टल राख्दा विरोध भएपछि आफूहरुले अहिले कोमागाने पार्कलाई केन्द्रीत गरी कार्यक्रम गर्न थालेको रेवान पोखराका सल्लाहकार तथा पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले बताए ।
Leave a Reply