
असोज १५ पोखरा : पदमार्ग क्षेत्रका समस्यालाई लिएर आन्दोलन घोषणा गरेका पर्यटन मजदूर र सरोकारवालाबीच चार बुँदे सहमति भएको छ ।
पदयात्रामा जाने नेपाली मजदूरलाई कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवसायीले असोज १ गतेदेखि प्रवेशद्वारमा नै दुईदेखि सात दिनसम्मको खानाको अग्रिम पैसा तिरेर कुपन लिनुपर्ने व्यवस्था गरेपछि त्यसलाई फिर्ता लिन मजदूरले माग गरेका थिए ।
असोज १५ सम्मको सम्मको म्याद दिएर आफ्ना माग पूरा नभए त्यसलगत्तै पदयात्रामा कोही पनि मजदूर नजाने र टानमा तालाबन्दी गर्ने कार्यक्रम घोषणा गरेका थिए ।
मजदूरको अल्टिमेटमको अघिल्लो दिन गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, टाडापानी पर्यटन व्यवस्थापन समिति, टान पश्चिमाञ्चल क्षेत्रीय समिति, पर्यटन मजदूर सङ्गठन, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन प्रहरी र टाडापानी होटल व्यवस्थापन समितिका बीचमा सर्वपक्षीय छलफल भई चार बुँदे सहमति भएपछि मजदूरको घोषित आन्दोलनका कार्यक्रम माघसम्मको लागि स्थगित गरेको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले जानकारी दिए ।
टाडापानी पर्यटन व्यवस्थापन समितिले मजदूरको खानाबापतको रकम अग्रिम उठाउँदै आएकोमा असोज २३ गतेबाट खानाको रकम सम्बन्धित होटल तथा लजको काउन्टरमा सोही छाकको खानाको मात्र रकम बुझाउने उल्लेख छ ।
Leave a Reply