
फागुन ४ पोखरा विगत ५ बर्ष अघि पोखराबाट सुरु भएको नो भेइकल जोन केहि परिमार्जन सहित पुनः संचालन गर्ने तयारी सुरु गरिएको छ । पोखराको लेकसाईडमा प्रायःअन्य बारको तुलनामा सुक्रबार आन्तरिक पर्यटकहरको चाप बढी भएकोले गर्दा पनि लेकसाईडमा शान्त वातावरण बनाउने उद्धेश्यले व्यवसायी तथा सरोकार निकायले यस अभियानलई पुनः सुरु गर्ने तयारी गरेका हुन ।
पोखरा आन्तरिक तथा बाह्यि दुबै पर्यटकहरुको चाप हुने भएकोले उनीहरुलाई एक दिन भने पनि सडकमा सवारी साधन विना हिडडुल गर्ने वातावरण मिलाउन लेकसाइृडको केहि भागमा नो भेइकल जोन कार्यक्रम संचालन गर्ने तयारी सुरु गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले बताए । पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले पोखरामा हप्तामा कम्तिमा पनि एक दिन पर्यटकहरुलाई छुट्टै रौनक दिन, उक्त कार्यक्रम संचालन गर्ने तयारी सुरु भएको उनले जनाए । काठमाण्डौंको ठमेलमा नो भेइकलजोन हाल राम्रो भएको देखिएकोले पोखरामा पनि यसको आवश्यकता भएको अध्यक्ष शर्माले जनाए ।
पोखरामा धेरै व्यवसायीहरुको माग अनुसार हरेक सुक्रबार वेलुका ५ बजे देखि राति १० बजेसम्मको लागि पोखराको हल्लानचोक देखि बाराहीघाटसम्मको क्षेत्रमा प्ररम्भिक रुपमा नो भेइकल जोन कार्यक्रम सुरु गर्ने तयारी भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरि कृष्ण पहारीले बताए । रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले पोखराको पर्यटन प्रबर्द्धन गर्न नो भेइकलजोन राम्रो कुरा भएको बताए । उनले भने “ ट्राफिकका हिसावले गर्दा पनि शुक्रबार लेकसाईडमा केहि शान्त वनाउनको लागि नो भेइकल जोन आवश्यक नै छ, यसो गर्दा आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई केहि हद सम्म भने पनि रौनक हुन्छ । ”
पोखरामा करिब ५ बर्ष अघि ७ महिना नो भेइकल जोन लेकसाईड क्षेत्रमा संचालन भएको थियो । विभिन्नकारणले उक्त अभियान सफल हुन नसके पनि बिचमै उक्त अभियान स्थगित भएको थियो । पोखरामा पहिला नो भेइकल जोन कार्यक्रम हुदाका संयोजक पर्यटन व्यवसायी सुर्य बहादुर भुजेलले पहिलाको कार्यक्रमको अनुभवले सुधार गरी दिगो हुने गरी उक्त कार्यक्रम पुनःआयोजना गर्नू पर्ने बताए ।उक्त कार्यक्रम ल्याएसंगै विभिन्न उपसमिति सहितको व्याबस्थापन गर्नु पर्ने उनले बताए । विभिन्न ठाँउमा सडक वन्दको चेन राख्नको लागि, सुरक्षाकर्मीको लागि, सडकमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुतीको लागि राज्यले तथा पर्यटन सम्वद्ध संघ संस्थाले यसलाई सहयोग गर्नु पर्ने भुजेलले बताए । पहिला लेकसाईडमा दिउसो ३ बजे देखि नो भेइकल जोन कार्यक्रम लागु गरिएको थियो ।
Leave a Reply