October 25, 2021

पर्यटनक्षेत्रमा व्यायामशाला सञ्चालनमा : प्रदेश सभा सदस्यद्धारा उद्घाटन

कार्तिक २२ पोखरा: उठेदेखि नसुत्ने बेलासम्म व्यस्त हुन्छ मान्छे । अचेल मान्छेको व्यस्तता शारीरिक भन्दा पनि मानसिक बढी हुन्छ । गेम नै खेल्न परे पनि मोबाइल, ल्यापटप र विद्युतीय सामग्रीको भर । दिमागलाई भारी तर शारीरिक परिश्रम शून्यप्राय ।

शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्न नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्स (एनवाइएफसी) र डिभी एजुकेसन नेटवर्कको संंयुक्त पहलमा मुलुकका विभिन्न सहरमा फिटनेस पार्कको निर्माण अभियान थालिएको छ ।

यहि अभियान अन्तर्गत पोखराको लेकसाइडस्थित डिहीकोपाटनमा व्यायामशाला तथा केलिस्थेनिक्स पार्क सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले व्यायामशाला उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि पहारीले नागरिकलाई स्वच्छ बनाउन यस्ता कार्यले धेरै सहयोग गर्ने बताए । कोभिडको संक्रमण बढिरहेको र व्यायामले मानिसलाई मानसिक र शारीरिक रुपमा बलियो बनाउने हुँदा यसको उपयोगिता अझ बढी रहेको बताए ।
डिभी एजुकेशन नेटवर्कका निर्देशक तरुणप्रताप शाहले प्रोजेक्ट टेम्पल अभियानले युवाहरुलाई स्वास्थ्यप्रति जागरुक बनाउने लक्ष्य राखेको बताए । युवालाई लागूऔषध र मादक पदार्थको कुलतबाट टाढै राख्ने र स्वस्थ्य जीवनशैली अवलम्बन गर्न प्रेरित गर्ने प्रतिबद्धता जनाए । टेम्पल प्रोजेक्ट अन्तर्गत निशुल्क प्रशिक्षण समेत दिइने उनले बताए ।

नेपालका विभिन्न सहरमा २० भन्दा बढी यस्ता पार्क बनाउने अभियान अन्तर्गत यो दोस्रो पार्क रहेको एनवाइएफसीका अध्यक्ष सुकदेव कार्कीले बताए । शुक्रबार काठमाडौंमा पहिलो व्यायामशाला उद्घाटन गरेको उनले जानकारी गराए ।

केही वर्षअगाडि मोटरसाइकल दुर्घटनामा आफ्नो हात र खुट्टा भाँच्चिएको र आत्माविश्वास समेत गुमेका बेला नियमित व्यायामको सहाराले पुनर्जीवन पाएको कार्कीले सुनाए । मानव जीवनमा व्यायामको अति नै महत्व रहेको र आफू पनि त्यसैबाट नयाँ जीवनमा फर्केकाले यो अभियानमा जुटेको उनले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ६, लेकसाइडमा व्यायामशाला सञ्चालनमा आएपछि स्थानीय पनि उत्साही भएका छन् । निशुल्क व्यायामशालाले आफूहरुलाई व्यायामका लागि शुल्क तिर्नुपर्ने वाध्यता हटेको भन्दै स्थानीयले प्रसंशा गरेका छन्

स्थानीय तालवाराही माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा व्यायामशाला निर्माण गरिएको हो । व्यायामशालाका लागि सहयोग गर्ने तालवाराही माविका प्रतिनिधिसहित विभिन्न व्यक्तिलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका ६ का वडाध्यक्ष जगतबहादुर पहारी, तालवाराही मावि व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद न्यौपाने, बब्स जिम्मका सञ्चालक एवं पर्यटन व्यवसायी वैभव पौडेल, रानीपौवा जिमका सञ्चालक दीपक बास्तोला लगायत सहभागी थिए ।

नेपाल रेडक्रस सोसाइटी इकाइ सभापति गिरिराज अधिकारी, वडा नं ६ का वडा सदस्य हरिकृष्ण पहारी, खहरे आमा समूह अध्यक्ष मैया थापा, नमुना आमा समूह अध्यक्ष अम्बिका अधिकारी, जगदम्बा आमा समूह अध्यक्ष चन्द्रकला अधिकारी, कार्यक्रममा सहभागी थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*