December 4, 2021

आन्तरिक उडान खोलौं, विदेशी पर्यटक र कामदार नरोकौं : पर्यटनमन्त्री

भाद्र २५ काठमाडौं :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा चारवटा महत्वपूर्ण प्रस्ताव पठाएको छ । प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार मन्त्रालयले १ असोजबाट  आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रालयले गरेको छ । यद्यपी १५ असोजबाट नियमित उडान हुने सम्भावना रहेको उनले जानकारी दिए ।

‘आज हामीले १ असोजबाट आन्तरिक उडान खुलाउने प्रस्ताव गरेका छौं,’ उनले भने, ‘सम्भवतः १ असोजमा भएन भने १५ असोजबाट खुल्छ ।’

मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान सुरु गरिने भएको छ ।

‘प्राथमिकतामा हिमाली र पहाडी इलाकामा रहेका एयरर्पोर्टबाट आन्तरिक उडान शुरु हुन्छ,’ उनले भने । मन्त्री भट्टराईका अनसुसार दशैं र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी गरिएको हो ।

मन्त्रालयले आज सीसीएमसीमा पठाएको प्रस्ताव अनुसार अब विदेशमा रोकिएका नेपाली आयोजनामा काम गर्ने कामदारलाई समेत नेपाल आउन अनुमति दिने प्रस्ताव माग गरिएको छ ।

‘विदेशी कामदार रोकिएकै कारण भैरहवा विमानस्थलको काम रोकिएको छ,’ उनले भने, ‘अब हामी उनीहरुलाई नेपाल ल्याउने तयारीमा छौं ।

पर्यटकलाई अनुमतिको प्रस्ताव

मन्त्रालयले अब गैरआवासीय नेपाली र पर्यटकलाई समेत स्वास्थ्य प्रोटोकल पुरा गरी नेपाल आउन अनुमति दिने गरी केन्द्रमा प्रस्ताव लगेको छ ।

‘पर्यटन क्षेत्रले ६ महिनाभन्दा लामो समय धैर्य गरेको छ, उनले भने, ‘अब क्रमशः स्वास्थ्यका नियम पालना गरी हामी पर्यटन गतिविधि अगाडी बढाउने योजनामा छौं ।

उनका अनुसार आज बिहीबार नै अन्तर्राष्ट्रिय नियमित उडानलाई संख्या बढाएर यसअघि लगाएको कोटा हटाउने निर्णय समेत भएको छ ।

अब दैनिक उडानको संख्या मागका आधारमा स्वतः बढ्ने गरी निर्णय भएको मन्त्री भट्टराईले जानकारी दिए । मन्त्री भट्टराईले अब सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि योजनावद्ध रुपमा काम भइरहेको जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*