September 23, 2021

थप ७२ जना कोरोना संक्रमण पुष्टि संक्रमित संख्या ६७५

जेष्ठ १२ पोखरा: थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।यस्तै रौतहटको राजपुर परहदवा– २, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् ।

बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका(३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

उता वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति ७० बर्षिय वृद्धको मृत्यु भएको थियो । अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।

यता काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस कोभिड-१९ संक्रमित किराना पसले भएको पाइएको छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*