September 27, 2021

बङ्गलादेशका राष्ट्रपति पोखरा आउदै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास

कार्तिक २७ पोखरा :

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणका क्रममा बिहीबार पोखरा आउदै ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउनुभएका हमिदले पर्यटकीयस्थल पोखराको दृश्यावलोकन गर्नुहुनेछ । राष्ट्रपति हमिदको पोखरा भ्रमणका कार्यक्रम निर्धारित भएसँगै पोखरामा यसको तयारी तीव्र पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।

प्रजिअ केसीका अनुसार बिहीबार बिहान १०ः३० बजे राष्ट्रपति हमिद नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल आउनुहुनेछ । विमानस्थलबाट राष्ट्रपति हमिदले सीधै फेवाताल किनारास्थित फिष्टेल लजमा पुगी आराम तथा भोजन गर्नुहुनेछ ।

फेवातालमा केही समय जलविहार गर्दै उहाँले अपराह्न २ः३० बजे पोखरा विमानस्थलबाट हेलिकप्टरमा रुपाकोटस्थित ‘रुपाकोट’ रिसोर्ट पुगी दृश्यावलोकन गर्ने कार्यक्रम छ ।
रुपाकोटमा दृश्यावलोकनपछि उहाँ हेलिकप्टरबाट सीधै काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रजिअ केसीले जानकारी दिनुभयो । राष्ट्रपति हमिदको पर्यटकीय नगरीको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । अतिविशिष्ट व्यक्तिको भ्रमण हुनु आफैंँमा महत्वपूर्ण रहेको पर्यटन व्यवसायी बताउँछन् ।

राष्ट्रपति हमिदको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्य बङ्गलादेशबाट नेपालमा वार्षिक २५ देखि ३० हजारसम्म पर्यटक आउँछन् ।

अतिविशिष्ट व्यक्तिको भ्रमणसँगै यसले देशी विदेशी सञ्चारमाध्यममा राम्रो चासो र चर्चा पाउने भएकाले राष्ट्रपति हमिदको पोखरा भ्रमणले महत्वपूर्ण अर्थ राख्ने छ ।

विसं २०७२ चैतमा पोखरामा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले २०७३ कात्तिकमा तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि लोभ्याएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*