June 16, 2021

पोखरा-मुक्तिनाथ केवलकारको अष्ट्रेलियन जहाज मार्फत सर्वे

सर्वेको लागी आएको अष्ट्रेलियन जहाज

जेष्ठ १८ पोखरा

पोखरा-मुक्तिनाथ केवलकारको अष्ट्रेलियन जहाज मार्फत सर्वे हुने भएको छ । मुक्तिनाथ दर्शन प्रालिका इन्जिनियर बिकास पवनबसुले सर्वेको लागि तयारी भइरहेको जानकारी दिनुभयो ।
सर्वेक्षणका लागि अष्ट्रेलियन जहाज बुधवार काठमाडौं ल्याण्ड गरेको र शुक्रवारदेखि सर्वेक्षणको काम भएको कम्पनीले जनाएको छ । जहाजको माध्यमबाट संसारकै लामो यात्रुबहाक केवलकार मुक्तिनाथ दर्शन केवलकारको सर्वेक्षण गर्न लागिएको हो ।

अष्ट्रेलियन जहाज मार्फत नेपालमा पहिलो पटक पोखरा(मुक्तिनाथ केवलकारको लाइडर सर्वे हुन लागेको छ । यो संसारमै उच्चस्तरीय प्रविधि मार्फत गरिने सर्वे हो । कम्पनीले झण्डै ७ करोड खर्च गरेर पहिलो पटक नेपालमा यो खालको प्रविधिबाट सर्वे गर्न लागेको बताइएको छ ।

सम्भाव्यता अध्ययनपछि केवलकारको विस्तृत परियोजना प्रतिवेदन डीपिआर तयारका लागि अष्ट्रेलियाको जहाज नेपाल आएको हो । कास्कीको नयाँपुलबाट मुस्ताङको मुक्तिनाथसम्म चल्ने केवलकार निर्माणका लागि सर्वे गर्न आएको जहाज झण्डै १० दिन नेपालमा रहने छ । जहाज अष्ट्रेलियाबाट ४ दिन लगाएर नेपाल ल्याण्ड गरेको कम्पनीले जनाएको छ । इन्जिनियर पवनबसुले शुक्रवारदेखि सर्वेको काम थाल्ने जानकारी दिनुभयो ।

कम्पनीले लाइजर सर्वेका लागि जहाजको विकल्प नभएको र त्यस प्रकारको प्रविधि अष्ट्रेलियामा मात्र रहेकाले जहाज मगाउनु परेको जनाएको छ । जहाज उडानको अनुमति पनि लिईसकेको मुक्तिनाथ दर्शन प्रालिले जनाएको छ । केवलकार झण्डै ८४ किलोमिटर लामो हुनेछ । केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच यसअघिनै सम्झौता भईसकेको छ । केवलकारमा १९ वटा स्टेशन रहनेछन् ।

आयोजनाको कूल लागत झण्डै ५० अर्ब हुने छ । लगानी बोर्डले मुक्तिनाथ दर्शन प्रालिलाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार पारी बोर्डसमक्ष पेश गर्नुपर्नेछ भने डीपीआर सकिएको तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । कम्पनीले अवरोध नभएमा समयमै काम सक्ने जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*