November 28, 2021

युवा पर्यटन व्यवसायी पौडेल टुरिजम बोर्डको सदस्यमा नियुक्त

फागुन ७ पोखरा

नेपाल टुरिजम बोर्डको कार्यकारी सदस्यमा युवा पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् । पर्यटन सँस्कृति तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार  पौडेललाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन ।

पछिल्लो तीन बर्ष यता यो क्षेत्रबाट पर्यटन बोर्डमा प्रतिनिधित्व थिएन । उनको कार्यकाल तीन बर्षको हुने  छ । नेपाल पर्यटन बोर्डको सदस्य नियुक्त भएका पौडेल पोखराको होटल बाराहीका कार्यकारी निर्देशक हुन् ।

पश्चिमाञ्चल होटल संघ पोखराका पूर्व अध्यक्ष समेत रहेका पौडेल सानै उमेरबाट पर्यटन व्यवसायमा लागेका थिए । हाल उनी नेपाल होटल संघका केन्द्रिय सदस्य छन ।
मन्त्री अधिकारीले पौडेलसंगै धादिङकी पर्यटन व्यवसायी पम्फा धमलालाई पनि बोर्ड सदस्यमा नियुक्त गरेका छन् । सफल महिला पर्यटन व्यवसायी धमला बोर्डका पूर्व सञ्चालक समिति सदस्यसमेत हुन् । उनी लाङटाङ रि ट्रेकिङका प्रबन्ध निर्देशक हुन् ।

सञ्चालक समिति सदस्यद्धय कृष्ण अर्याल र पूर्ण बहादुर कुँवरको समयावधि सकिएपछि नयाँ बोर्ड सदस्य छनोट प्रक्रिया अघि बढाइएको थियो । नयाँ बोर्ड सदस्य छनोटका लागि ट्रेकिङ्ग एजेन्सिज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष नवराज दाहाल र नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाका अध्यक्ष सिएन पाण्डेलगायत संलग्न रहेको एक सिफारिस कमिट गठन गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*