September 23, 2021

पोखराकी १३ वर्षीया पुष्पा केसीको बलात्कारपछि हत्या भएको स्थानीयको आशंका

पोखरा ९ भदौ । पोखरामा विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी वालिकाको शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा भेटिएको हो ।

शवको प्रकृति हेर्दा पुष्पाको बलात्कार पछि भएको आशंका छ । स्थानीयका अनुसार मृतकले लगाएको स्कर्ट शव भएको स्थान भन्दा केहि पर भेटिएको छ । त्यस्तै योनाङ्गबाट रक्तश्राव भएको र प्याड प्रयोग गरिएको पाइएको छ । घटना स्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयबासीको दाबी छ । यद्यपि प्रहरीले भने अहिले केहि भन्न नसकिने बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक  रविन्द्रमान गुरुङले पुष्पाको शरिरमा बाहिरी चोटपटक नदेखिएको बताए । अनुसन्धान जारी रहेकाले अहिले नै हत्या वा अन्य के भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने उनले बताए ।

बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत पुष्पा बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर घरतर्फ गइरहेकी थिइन् । घरमा पुग्न करीब एक सय मिटर तल आएपछि ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै ओर्लेकी थिइन् ।

तर, उनी घर फर्किनन् । परिवारले पनि साथीसँग गइहोली भनेर तत्काल वास्ता गरेनन् । तर, शुक्रबार पनि स्कुल नगएपछि सोधिखोजी शुरु गरिएको थियो । खोज्दै जाँदा शनिवार झाडीमा शव भेटिएपछि घटना रहस्यमय देखिएको हो । टमाटर किन्न भनेर गएकी पुष्पा भीरतिर जानुपर्ने कारण नदेखिएकाले पनि घटनाप्रति आशंका उब्जाएको छ ।

पुष्पाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यसैविच बिद्यालयले बिज्ञप्ती प्रकाशित गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*