December 9, 2021

मानव बलको साटो अब सौर्यउर्जाबाट फेवातालमा डुंगा चलाउन सकिने

पोखरा, १८ पुस/फेवातालमा मान्छेले सकिनसकि बहनाले डुंगा खियाइरहेका छन् । मानव बलको साटो अब सौर्यउर्जाबाट चल्नेगरि डुंगालाई स्तरोन्नती गर्न प्राविधिक र वातावरणीय हिसाबले डुंगा चलाउन सकिने विज्ञहरुले बताएका छन् ।

नवीकरणीय उर्जा परिसंघको पहलमा चिनियाँ प्रविधिमा आधारित सौर्य उर्जाबाट चल्ने डुंगाको गत शनिबार बिहान फेवातालमा परीक्षण गरिएको थियो । दशजना यात्रु चढ्न मिल्ने डुंगामा गरिएको परीक्षणमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी सहित पूर्व वातावरणमन्त्री गणेश शाह सहितका प्राविधिक सहभागि थिए ।

परीक्षण सफल भएपछि मेयर जिसीले वातावरणीय र प्राविधिक दुवै हिसाबले फेवातालमा यो प्रविधि उपयुक्त रहेको बताए । नवीकरणीय उर्जा परिसंघका अध्यक्ष गुणराज ढकालका अनुसार डुंगाको छानामा सोलार प्यानल जडान गर्ने र त्यसबाट उत्पादित उर्जाबाट डुंगामा राखिएको ब्याट्रि चार्ज गर्न सकिन्छ । त्यही ब्याट्रिले डुंगामा जडित मोटरमार्फत चलाउन सकिन्छ । उनीहरुले शनिबार बिहान ३ सय वाटको सोलारबाट उत्पादित उर्जाले २ सय ६० वाट क्षमताको ब्याट्रि चार्ज गरेर मेसिनमार्फत तालमा डुंगा सयर गरेका थिए । पाँचवटा गियर सहितको मेसिनले १० जना यात्रुलाई लिएर ताल घुमाएको थियो ।

सरकारले अनुदान दिएर डुंगा व्यावसायीलाई यो प्रविधि जडान गर्न प्रोत्साहन दिनुपर्ने उनले बताए । सहुलियत दरमा सरकारले योजना ल्याउन सक्छने र फेवा, बेगनास लगातयका तालमा यसलाई उपयोग गर्ने हो भने कम समयमा ताल घुम्न सकिने ढकालले बताए ।

पूर्व वातावरणमन्त्री गणेश शाहले सौर्य उर्जा नै वातावरणका लागि उपयुक्त रहेको बताए । छोटो समयमा धेरै क्षेत्रफलमा ताल घुम्न चाहनेलाई यो प्रविधिबाट संचालित डुंगाबाट छिटोछरितो हुने उनले बताए ।

फेवातालमा अहिले ७ सय भन्दा बढी डुंगा छन् । ती डुंगा अहिले विभिन्न घाटबाट संचालित हुन्छन । फेवा डुंगा व्यावसायी समितिका सदस्य बलराम गिरीले अब सौर्यउर्जालाई प्रयोग पछि हट्न नहुने बताए । ‘अब हामी नयाँ प्रविधिमा जानैपर्छ । हातले बहना खियाएर डुंगा चलाउन सकिन्न,’ उनले भने, ‘सौर्यउर्जाबाट चल्ने भएकोले यसको उपयोगमा सबै सहयोगी बन्नुपर्छ ।’ फेवातालमा सौर्यउर्जाबाट चल्ने डुंगा प्रयोग आफुले पहल गर्ने उनले बताए । शनिबार परीक्षण गरिएको सौर्यउर्जाका सामान संघले उनै गिरीलाइ हस्तान्तरण गरेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*