December 4, 2021

सडक महोत्सव आजबाट सुरु तालबाराही मन्दिरमा पर्यटकको घुँइचो ।

पर्यटकीय नगरी पोखरामा यति बेला आन्तरीक पर्यटक ह्वात्तै बढेका छन् । विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखरामा पुग्ने जो कोही पर्यटकले घुम्न नछुटाउने धार्मिक पर्यटकीय तीर्थस्थल हो तालबाराही मन्दिर ।

माछापुच्छ्रे हिमालको छाया देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि मन्दिर अवस्थित छ र यसलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आइएको छ ।

तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ । अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकिन तथ्य भने अनुसन्धानकै पर्खाइमा छ ।

तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरका अनुसार यस मन्दिरको अस्तित्व विसं १६६७ देखि कायम रहिआएको छ । कतै कतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेख पनि पाइएको छ । कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेका थिए ।

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास निकै रोचक छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वास छ । तालबाराही देवी सन्न्यासीको भेषमा रातको समय मन्दिर रहेको वरपरको गाउँ पुग्दा अरू कसैले बास दिएनछन् । एउटी बूढीआमाले बास दिएर रातमा आफूसँग भएको ढुटाको रोटी खान दिनुभएछ ।

श्रुतिअनुसार भोलिपल्ट बिहान बूढीआमालाई देवीले अब यहाँ जलमग्न हुन्छ त्यहाँ गएर बस्नु भनेकामा ठूलो बाढी भएर जलमग्न भयो र बीच भागमा ढिस्को मात्रै रह्यो । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो । फेवाताल र यसको बीचमा अवस्थित तालबाराही मन्दिरको दर्शन गर्न वर्षभरि नै दर्शनार्थी आउने गर्दछन् ।

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउँछन् । त्यसकारण तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । यहाँ धार्मिक आस्था बोकेका र नबोकेका दुवै थरी पर्यटक घुम्न आउने गरेको उहाँ बताउनुहुन्छ । धर्म र पर्यटनको दुवै रुपमा गन्तव्यस्थल बनेको यस मन्दिरमा वर्षैभरि दर्शनार्थी पुग्ने गरेका कारण मेला लागेजस्तो हुने गरे पनि यहाँ कोजाग्रत पूर्णिमाका दिन विशेष मेला लाग्छ । यस दिन बाराही दर्शन गरी जमरा सेलाउन टाढाटाढाबाट भक्तजन आउने गर्दछन् ।

नवरात्र अवधिभर यहाँ आउने भक्तजनका कारण नै मन्दिर परिसर दिनभर नै खचाखच भरिएको हुन्छ । तालमा देखिने माछापुच्छ«े हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूप जस्ता दृश्यले पर्यटकलाई लोभ्याउने गरेका छन् । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यको मज्जा लिन पाइने मात्र हैन तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू मन्दिरमा पुग्ने गरेको  छ

दैनिक चारदेखि छ हजारसम्म पर्यटक यहाँ दर्शनका लागि आउँछन् । यहाँ आएर विवाह बन्धनमा बाँधिए दाम्पत्य जीवन सुखी हुने जनविश्वास यस मन्दिरको अर्को विशेषता हो । जम्मा तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको थप संरक्षणमा तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समिति क्रियाशील रहँदैआएको छ । मन्दिर परिसरको भूबनोटको परीक्षणका लागि समितिले २५ मिटर गहिराइसम्मको माटो परीक्षण गरेको र परीक्षणबाट भूबनोट बलियो रहेको पाइएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी समितिले यहाँ बस्ने बेन्चको व्यवस्था गरेको छ र अघिल्तिर आकर्षणका लागि पानीको फोहोरा निर्माण गर्न लागिएको छ ।

समितिले मन्दिरको संरक्षणका लागि पुरातत्व विभागसँग पनि समन्वय गरिरहेको छ । “पोखराको गहना फेवाताल र यसको गहना तालबाराही हो, फेवातालको संरक्षणसँगसँगै तालबाराही मन्दिरको पनि संरक्षण गरिनुपर्छ मन्दिरका कारण बढेको पर्यटकीय आकर्षणलाई जोगाउन यसको संरक्षणमा स्थानीयवासीका साथै राज्यका सम्पूर्ण निकाय लाग्नु आवश्यक छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*