June 16, 2021

राष्ट्रिय सम्पदा मानवअधिकार पुरस्कार मानवअधिकारकर्मी खगराज आचार्यलाई

पोखरा, १९ मंसिर/राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले यस वर्षको राष्ट्रिय सम्पदा मानवअधिकार पुरस्कारबाट मानवअधिकारकर्मी खगराज आचार्यलाई सम्मान गर्ने भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा न.१७, बिरौटा निवासी आचार्य लामो समयदेखि मानवअधिकारका क्षेत्रमा कार्यरत छन् ।

पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ अधिवक्ता तिलक पराजुली संयोजक रहेको ७ सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा संस्थाले आचार्यलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

छनोट समिति सदस्यमा उच्च अदालत पोखरा वार एशोसिएसनका अध्यक्ष दयाराम गौतम, संस्थाकी अध्यक्ष शशी तुलाचन, पुरस्कारका संस्थापक एवं संस्थाका उपाध्यक्ष रामबहादुर पौडेल, संस्थाका उपाध्यक्ष पार्वती पौडेल, संस्थाका महासचिव विष्णुहरि अधिकारी र संस्थाका सदस्य सुनिल पाण्डे थिए । उक्त पुरस्कार राशि १० हजार रुपैयाँसहित ताम्रपत्रद्वारा आचार्यलाई सम्मान गरिनेछ ।

नागरिक समाजका संयोजक एवं संस्थाका उपाध्यक्ष रामबहादुर पौडेलद्वारा पुरस्कारका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरी सोको व्याजबाट मानवअधिकारको क्षेत्रमा कार्यरत् व्यक्तित्वलाई प्रत्येक २ वर्षमा पुरस्कृत गरिँदैआएको छ । यसअघि उक्त पुरस्कारबाट नवलपरासी जिल्लामा कार्यरत मानवअधिकारकर्मी कैलाश ठाकुरलाई सम्मान गरिएको थियो ।

पुरस्कार विश्व मानवअधिकार दिवस सन्दर्भ पारेर मंसिर २४ गते नेपाल पर्यटन बोर्ड, पोखराको सभाहलमा संस्थाको २२ औं साधारणसभा तथा ११ औं सम्मेलन समारोहमा प्रदान गरिने संस्थाका महासचिव विष्णुहरि अधिकारीले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*