
पोखरा २३ असार । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले आर्थिक कारणबाट संघीयता संकटमा रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शर्मा तथा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको सम्मानमा शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा शर्माले प्रदेश सरकारको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको रकम जोहो गर्न समस्या भएको बताए ।
‘हरेक प्रदेशको लागि चाहिने पूर्वाधारको लागि ठूलो रकम चाहिन्छ, त्यसको लागि अब सोच्नैपर्छ’, उनले भने,‘प्रदेश नम्बर ४ ले पनि आफूलाई सक्षम बनाउन पूर्वाधारमा ठूलो लगानी गर्नुपर्छ, यातायातले सम्वृद्धि ल्याउँछ ।’ प्रदेश नम्बर ४ को सम्वृद्धिको लागि मुक्तिनाथदेखि सुस्ता नाकासम्मको राजमार्ग आवश्यक भएको बताउँदै राजनीतिक नेतृत्वले राजमार्ग निर्माणको लागि पहल थाल्नुपर्ने उनको भनाई थियो । पोखरा भित्र ठूला उद्योगको कल्पना गर्न नसकिने बताउँदै उनले ठूला उद्योगहरु अन्य जिल्लाहरुमा सार्नको लागि पहल गर्नुपर्ने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ पौडेलले कूल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान घट्दै जानु देशको लागि चिन्ताको विषय भएको बताए । रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई उत्पादनमूलक क्षेत्रमा लगाउन नसके देश जतिबेला पनि संकटमा पर्न सक्ने उनले बताए ।
भौगोलिक तथा सम्भावनाका दृष्टिकोणले समेत पोखराले अब धेरै जनसंख्या धान्ने अवस्थामा नरहेको बताउँदै उहाँले पोखरालाई सम्वृद्ध बनाउन निजी क्षेत्रले नै पूर्वाधार निर्माणमा हात हाल्नुपर्ने बताए । ‘सार्वजनिक निजी साझेदारी अनुरुप अब ठूला राजमार्गहरु निजी क्षेत्रले बनाउनुपर्छ, कोत्रेदेखि पोखरासम्मको छ लेनको बाटो बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ ’, उनले भने ,‘पूर्वाधारका ठूला परियोजना संचालन नहुनु भनेको विकासमा पछि पर्नु नै हो ।’ गृहमन्त्रीले भनेजस्तै पोखराको लेकसाइडलाई २४ सै घण्टा खुल्ला राख्नको लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाउने दिशामा कास्की प्रशासन अगाडि बढेको उनले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरालाई सम्वृद्ध बनाउनको लागि निजी क्षेत्र सम्बन्धित सबैसँग हातेमालो गर्न तयार रहेको बताए । पोखराको पर्यटन प्रवद्र्धनको लागि अब ठाउँ प्रवद्र्धन अभियान चलाइनुपर्ने बताउँदै अध्यक्ष पालिखेले पोखराको सुन्दरता बचाई राख्नु चुनौतिपूर्ण भएको बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु, महासचिव दामु अधिकारी लगायतले बोलेका थिए ।
Leave a Reply