September 27, 2021

‘पर्यटक बस’ चालक तथा सहचालकलाई खोप तत्काल उपलब्ध गराउन माग

रोहीत वस्नेत
साउन १५ पोखरा : कोरोना महामारीको दोस्रो लहरपछि घोषित निषेधाज्ञा खुकुलो पारे सँगै कोरोना महामारीका कारण विगत लामो समयदेखि ठप्प रहेका आन्तरिक तथा बाह्य पर्यटक बोक्ने पर्यटक बस चालक तथा सहचालकलाई कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन माग गर्दै फेरी आफ्नो सेवामा फर्केका छन् ।

“पर्यटक बस चढ्नु अगाडि सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस्था गरेर मात्र बस सञ्चालन गरीएको नाटा गण्डकीका प्रथम उपाध्यक्ष तथा पर्यटक बस कम्पनीका संचालक हरिराम अधिकारीले जानकारी दिनु भयो ।

अहिले दैनिक आलो पालो गरेर २ वटा बस काठमाडौंका लागि पोखराबाट छुट्न शुरु गरेको नाटा गण्डकीका सह-कोषाध्यक्ष तथा पर्यटक बस उपकमिटि संयोजक नवराज भण्डारीले जानकारी दिनु भयो । उहाँका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सेवा शुरु गरिएको छ । यात्रुको चाप बढ्दै जाँदा थप सेवाको लागी तयारी अवस्थामा रहेको समेत बताउनु भयो ।

चालक तथा सहचालकलाई तत्काल खोप आवश्यक ।
पर्यटकीय यातायात चलाउने चालक, सहचालक तथा व्यवसायी मजदुरहरुलाई प्राथमिकताका आधारमा कोरोना विरुद्धको खोप तत्काल लगाउन पाउनुपर्ने पर्यटक बस संचालकहरुले माग गरेका छन् ।
विगत लामो समय देखि पुर्ण रुपमा बन्द भएका कारण बैंकमा किस्ता तिर्न समेत समस्या छ । पर्यटक बसमा भएको अरबौं रुपैयाँ लगानी जोखिममा रहेको बेला आन्तरिक पर्यटकलाई आकषिर्त गर्नसके पनि केही मात्रामा व्यवसाय बचाउन सकिने भन्दै व्यवसायीले संरक्षणको माग समेत गरेका छन् ।

पर्यटक बस चलाउने अग्रपंतीका चालक, सहचालक तथा मजदुरलाई तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था गर्नुपर्ने माग गर्दै पर्यटक बस संचालकहरु जिल्ला प्रशासन कार्यालय कास्की पुगेका थिए सहायक प्रमुख जिल्ला अधिकारीको तोक लगाएर खोप पाउने निश्चित भएको पनि १५ दिन पुगीसक्यो तर अझै प्राथमिकतामा नपरेको नाटा गण्डकीका प्रथम उपाध्यक्ष तथा पर्यटक बस कम्पनीका संचालक हरिराम अधिकारीले गुनासो गर्नु भयो ।

पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरे पनि उमेर समूहमा पालो कुर्दै सहनशीलता र धैर्यताको कारण प्रशासनबाट हामीहरु ओझेल परेको समेत नाटा गण्डकीका सह-कोषाध्यक्ष तथा पर्यटक बस उपकमिटि संयोजक नवराज भण्डारीले आक्रोष व्यक्त गर्नु भएको छ ।

प्रशासनले खोप उपलब्ध गराउने आश्वासन दिए सँगै सम्पूर्ण पर्यटक बस कम्पनीका चालक सहचालक तथा पर्यटनसम्बद्ध मजदुरको नाम, उमेर खुल्ने परिचयपत्र (डाटा कलेक्शन) गरी नाटा गण्डकीमा बुझाइसकेको ड्रिमओए टुर्स एण्ड ट्राभल्स कम्पनीका सचालक तथा नाटा गण्डकीमा कार्यसमिति सदस्य सुवास पहारीले वताउनु भयो ।

कोरोना महामारीको सङ्क्रमण भन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका थिए। पछिल्लो समय बाह्य पर्यटक मात्र होइन, आन्तरिक पर्यटक समेत बसमा यात्रा गर्दा भरपर्दो र सुरक्षित यात्राको महुसुस गर्दै बसमा आकषिर्त हुने गरेको पाईन्छ ।

पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन ३० लाख देखि डेढ दुई करोडसम्मका सुविधासम्पन्न पर्यटक बोक्ने सवारीसाधन रहेका छन् ।

त्यसै गरी पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा भएपनि खोपको माग गरेका छन् । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउनु भयो । मन्त्री बरालले कोरोनाबाट थलिएको पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताएको समेत उहाँले भन्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*