September 26, 2021

थप ३० जनामा कोरोना पुष्टि संक्रमित संख्या ४८७

जेष्ठ ९ कपिलवस्तु: कोरोना संक्रमितको संख्यामा थप वृद्धि भएको छ।

शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ती ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, भरत महानगरपालिका–६ केसरवाघ, चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन्।

त्यसैगरी नवलरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ र १८ का ९ जना सर्लाही गोडैता नगरपालिकाका ५ जना, रामनगर बहुअर्वा गाउँपालिका–७ का १५ जना छन् । यसरी संक्रमित हुनेमा ८ वर्षीय बालकदेखि ७४ वर्षसम्मका छन्। यीमध्ये अधिकांश युवाहरु छन्।

कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका मध्ये दुई जना पत्रकार रहेको खुलेको छ ।

दुईजनामध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन् ।

एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले एक अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका थिए । एकजना वाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् ।

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*