August 5, 2021

पोखरामा कोरोनाको त्रास : पर्यटन व्यवसायीद्वारा प्रचारात्मक अभियान

फाईल तस्वीर

फागुन २० पोखरा :

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका लागि पोखरामा आवश्यक तयारी थालिएको छ । विश्व स्वास्थ्य संगठनले नेपालसमेत कोरोना भाइरसको उच्च जोखिममा रहेको सार्वजनिक गरेपछि गण्डकी प्रदेशको राजधानी पोखरामा सतर्कता अपनाउन सुरू गरिएको हो ।

विश्वका विभिन्न देशहरूमा संक्रमण फैलिन थालेपछि भोलिका दिनमा भैपरी आउने समस्यालाई समाधान गर्न गण्डकी सरकारले पोखराका विभिन्न अस्पतालहरूको समन्वयमा ४ दर्जनभन्दा बढी बेडहरू तयारी अवस्थामा राखेको छ । पोखरामा चिनियाँसहित विभिन्न देशका पर्यटकको आवतजावत हुन्छ ।

पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरूको उच्च आगमन हुने ठाउँ भएका कारण जोखिम पनि बढी हुने भएकाले उच्च सतर्कता अपनाइएको प्रदेश सरकारले जनाएको छ ।

गण्डकी प्रदेश चीन र भारतसँग सीमा जोडिएको छ । चिनियाँ र भारतीय पर्यटकहरू खुला सीमाका कारण सिधै नेपाल प्रवेश गरी पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखरामा भित्रिन सक्ने भएका कारण पनि उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ ।
जोखिमलाई मध्यनजर गरी गण्डकी प्रदेश सरकारले १ महिना अगाडि नै आवश्यक सतर्कता अपनाउँदै उपचारात्मक, प्रबद्र्धनात्मक र प्रचारात्मक कार्यका लागि टास्क फोर्स गठन गरिसकेको छ ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माको संयोजकत्वमा गठित टोलीले नै कोरोना भाइरस संक्रमणको सतर्कता अपनाउने कार्य गर्दै आएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना भाइरको संक्रमण भएमा निराकरणका लागि आवश्यक तयारी थालिएको बताइन् ।

उनले भैपरी आउने समस्याका लागि पोखराको चरक अस्पतालमा २७, गण्डकी मेडिकल कलेजमा १५, मनिपाल अस्पतालमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३ सहित ६० वटा वेड तयारी अवस्थामा राखिएको बताइन् । यसैगरी पोखराको आईएनएफको प्राङ्गणमा टेण्ट राखेरै ५० बेड तयार गर्न लागिएको छ ।


पोखरा र मुस्ताङमा हेल्थ डेस्क

प्रदेश सरकारले प्रदेशका दुई स्थानमा हेल्थ डेस्कको स्थापना गरेको छ । हवाईमार्गमार्फत पोखरा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकहरूको अवस्था बुझ्न पोखरा विमानस्थलमा विगत एक महिनादेखि हेल्थ डेस्क स्थापना गरिसकेको छ ।

विमानस्थलबाट पोखरा भित्रिने यात्रुहरूलाई ज्वरो, रूघाखोकी जाँच गरिँदै आएको छ । हालसम्म कसैमाथि पनि कोरोना संक्रमण नदेखिएको हेल्थ डेस्कले जनाएको छ । प्रदेश सरकारले जोखिमलाई मध्यनजर गरी थप ४ सय ७५ वटा ‘पर्सनल प्रोटेक्ट इक्विपमेन्ट’ किन्ने तयारी थालेको जनाएको छ ।

बेड छुट्याएको अस्पतालका स्टाफलाई अस्पतालमै पुगेर तालिम दिन लागिएको छ । प्रदेश सरकारले उत्तरी नाका कोरला नजिकै मुस्ताङको लोमन्थाङमा समेत हेल्थ डेस्क स्थापना गरी ८ जना कर्मचारी खटाएको छ ।


पर्यटन व्यवसायीद्वारा प्रचारात्मक अभियान

पोखराका पर्यटन व्यवसायीले कोरोना भाइरसविरूद्ध सचेतना फैलाउने उद्देश्यले पोखरामा प्रचारात्मक अभियान सुरू गरेका छन् । पोखरा पर्यटन परिषदद्वारा आयोजित कार्यक्रममा व्यवसायीले भाइरसको संक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती प्रज्वलन समेत गरेका छन् ।

पोखरा महानगरपालिका मेयर मानबाहदुर जिसीले कोराना भाइरसबाट आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए । सतर्कता अपनाउँदै भाइरसको अन्त्य गर्नमा नेपालले चीनलाई सहयोग गर्नुपर्ने उनले बताए । ‘कोरोना मात्रै नभई हरेक भाइरसको संक्रमणबाट बच्नुपर्छ,’ उनले भने, ‘भाइरसलाई परास्त गर्न हामी सचेत छौँ ।’

एउटा गतिमा हिँडिरहेको विश्वको आर्थिक शैक्षिकलगायतका क्षेत्रलाई कोरोनाको प्रकोपले प्रभाव पारेकाले यसको अन्त्य गर्नका लागि सबै मिलेर लाग्नुपर्ने प्रमुख जिसीले बताए ।

पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले चीनबाट फैलिएको कोरोना भाइरसले पोखराको पर्यटन व्यवसायमा धक्का पुगेको बताए । सारा विश्व यसबाट आतंकित हुदा आफूहरू यसबाट अछुतो नरहेको उनले बताए ।

‘चीनका पर्यटक पोखरा भित्रिने मुख्य समय यही हो,’ उनले भने, ‘मुख्य सिजनमा कोरोना फैलियो । जस्ले पोखराको पर्यटन व्यावसायमा असर परेको छ ।’

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सचेतना अपनाउन आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पोखरा विमानस्थल र लेकसाइड क्षेत्रमा हेल्थ डेस्क स्थापना गरी पम्प्लेटहरू वितरण गर्दै सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।


पोखरा उच्च जोखिममा

पर्यटकीय नगरी पोखरा कोरोना भाइरसको उच्च जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् । पोखरामा हवाई उडान र सडक मार्ग हुँदै विभिन्न देशका पर्यटकहरूको आगमन हुने भएकाले कोरोना भाइरसको उच्च जोखिम रहेको चिकित्सकहरूले बताए ।

हवाई मार्ग तथा सडक मार्ग हुँदै दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले आयात तथा निर्यात गर्दै आएकाले पोखरा कोरोना भाइरस उच्च जोखिममा रहेको डा। नवीनकुमार श्रेष्ठले बताए ।

उनले उच्च सतर्कता अपनाउन सरकारलाई समेत सुझाए । ‘आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै विभिन्न सामाग्रीहरू आयात निर्यातका कारण पोखरा क्षेत्र कोरोना भाइरसको उच्च जोखिममा छ,’ उनले भने, ‘सरकारले पर्याप्त मात्रमा सावधानी र आवश्यक तयारीसमेत गरेको छैन ।’

कोरोना भाइसरको उपचारका लागि आवश्यक प्रोटेक्सन इक्विपमेन्ट पीपीई पोखराका अधिकांश अस्पतालमा नभएको उनले बताए ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबन्धु शर्माले पोखरा क्षेत्रमा कोरोना भाइरसको जोखिम उच्च भएकाले आफूहरूले तयारी सुरू गरेको बताए । उनका अनुसार पोखराका विभिन्न अस्पतालमा ६० बेड तयारी अवस्थामा राखिएको छ ।

निर्देशक डा. शर्माले आफूहरूसँग पीपीई २४ सेट रहेको र बाँकी ३ सय ५० वटा पीपीई खरिद प्रक्रियामा रहेको जनाए । जोखिमलाई मध्यनजर गरी आईएनएफ र केही विद्यालयहरूमा टेण्ट राखेर उपचार गर्न आवश्यक व्यवस्था मिलाइएको बताए ।

कोरोना संक्रमण भएको शंका लागेमा परीक्षणका लागि काठमाडौं पठाउने तयारीसमेत गरिएको निर्देशक डा। शर्माले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*