
मंसिर २५ पोखरा :
सरकारले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँबाट सम्मानित गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ ।
जस अन्तर्गत एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी पौडी खेलाडी गौरिका सिंहसहित ४ खेलाडीले ११ लाखको दरले नगद पाउने छन् ।
टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाखले सम्मान गरिनेछ तथा स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकहरुले पनि जनही ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख दिने निर्णय गरेको छ ।
काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।
यो पटक भने पुरस्कार रकम झण्डै दोब्बर भएको छ । ‘हाम्रो जस्तो गरिव देशको सरकारले उचित सम्मान गर्यो भन्ने लाग्छ’ प्रधानमन्त्री ओलीले भने ।
Leave a Reply