May 12, 2021

‘फेक न्यूज’ कमाइ खाने भाँडो बन्दै सामाजिक सञ्जाल : जनता उत्तेजनाको शिकार

भाद्र ३ पोखरा :

आजभोली केही दिनयता गाउँका कुना कुनामा रवि लामीछाने, शहरका गल्लीहरुमा रवि लामीछाने, सानातिना पसल तथा भट्टीहरुमा समेत रवि लामीछाने, सामाजिक सञ्जाल फेसबुक वालहरु र यूट्युबर रवि लामिछानेमय भएको छ । सामाजिक सञ्जालमा रवि लामिछानेसँग सम्बन्धित पोष्ट र भिडियोको लहर चलेको छ ।

सनसनीपूर्ण खुलासा, बाहिरियो रहस्य, गोप्य भिडियो, अपराधी पत्ता लाग्यो । जस्ता अनावश्यक शीर्षक राखिएका हजारौं पोष्ट, भिडियो सामाजिक सञ्जालमा सेयर गरिँदैछ ।
सञ्जालमा आएका केही समाचार र भिडियोका शीर्षक यस प्रकारका छन् ।
– रबिको पक्षमा उर्लियो जनसागर, चितवनमा गोली चल्यो अवस्था यस्तो, डरलाग्दो लाईभ भिडियो ।
– झण्डै ढलिन रबिकी आमा भित्र छिर्न दिईएन ।
– २ करोड सँगै रबि सिध्याउने खेलको भयो पर्दाफास । सर्वोच्च अदालतका वकिलले गरे डरलाग्दो खुलासा ।
– आयो मात्र २४ घण्टाका लागि यति ठूलो चुनौती, पुडासैनीको हत्यारलाई २४ घण्टामा पकडेर देखाइदिन्छु ।
– अन्तमा होटल कंगारु आगो लगाउने निर्णय ।
– रबि लामिछानेबारे माताको भविष्यवाणी यस्तो, दाबिका साथ फेरी गरिन भविष्यबाणी ।
– रबिलाई फसाउनुको कारण खुल्यो यसरी भयो षडयन्त्र ।

यस्ता विभिन्न शीर्षक राखिएर बनाइएका भिडियो र पोष्टको सूची लामै बन्नसक्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु यस्तै सनसनीपूर्ण शीर्षक राखिएका भिडियो र पोष्ट सेयर गर्दैछन् । सामाजिक सञ्जाल प्रयोगकर्तालाई भड्काउने, उत्तेजित बनाउने यस्ता पोष्ट र भिडियो बनाउनमा माहिर छन् यूट्युबर र केही मिडिया ।

यूट्युबका विवेकहीन कन्टेन्ट पत्याई दिन्छन सामाजिक सञ्जाल प्रयोगकर्ता । तथ्यभन्दा भावनालाई ठूलो मान्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई सनसनीपूर्ण शीर्षक राखेर लोभ्याउँछन यूट्युबर ।
सनसनीपूर्ण शीर्षक राखिएका ‘फेक न्यूज’को भ्यूअर्स भइरहँदा । सामाजिक सञ्जालमा ‘फेक पोष्ट’ सेयर गरिरहँदा हामी उत्तेजनाको शिकार भइसकेका हुन्छौं । भावना र उत्तेजनाले हाम्रो विवेकमा ताल्चा लगाइसकेको हुन्छ ।

सेलिब्रेटी र पत्रकार
रबि लामिछाने पक्राउ परेको विषयमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई भड्काउन, उत्तेजित तुल्याउन यूट्युबरसँगै पत्रकार र सेलिब्रेटी पनि लागि परेका छन् । समाजले पत्याएका, लाखौं फ्यान फलोईङ भएका पत्रकार सेलिब्रेटी पनि भीडलाई उत्तेजित तुल्याउन लागेका छन् ।

नेपालको जेलमा अरु पनि हजारौँ निर्दोषहरु बिना कुनै गल्ति फसिरहेका छन् र फसाइएका छन् ।
अनुसन्धानको नतिजा नआउँदै आरोपितलाई निर्दोषभन्दा आफू हाँसोको पात्र बन्छु भन्ने पनि भुलेछन हाँस्य कलाकारले ।

शालिकराम पुडासैनीलाई रविले आत्महत्या गर्न बाध्य बनाएका हुन् या होइनन् भन्ने विषयमा अदालतले फैसाला गर्ने छ भन्दाभन्दै पनि रविमाथि लागेको पैसा असुलिको आरोपको विषयमा शालोक्य लेख्छन्, ‘खैर शालिकरामले करोडौँ असुल्छ भनेर मृत्युअघि बनाएको भिडियोमा बोलेको कुरा अहिलेलाई आरोपमात्रै हो । प्रहरीले यो विषयमा छानबिन गर्न पनि सक्छ, नगर्न पनि सक्छ । यति कुरा आएपछि राज्यलाई चासो लागे छानबिन गर्न सक्छ । छानबिनबाट अन्यथा प्रमाणित नभएसम्म अहिलेलाई यो आरोपमात्रै हो । शालिकरामलाई उनले मर्न बाध्य बनाएको हो कि हैन यो विषयमा पनि प्राप्त प्रमाणका आधारमा अदालतले फैसला गर्ने नै छ ।

सामाजिक सञ्जालको प्रभावले फेक न्यूज र न्यूज छुट्याउन सकस भईरहेको समयमा हामी भावना मिसिएको, सनसनीपूर्ण कुरा छिट्टै पत्याउँछौ । उत्तेजित शीर्षक राखिएका । भावुक विषय लेखिएका सामग्री सेयर गर्नु र पढ्नु अगाडि हामी त्यो कुरा कति सत्य हो कति झुट हो भनेर एकपटक पनि सोच्छौं ?

सामाजिक सञ्जालमा फैलिएका यस्तै फेक न्यूज र पोष्टका कारण भारतमा उत्तेजित भीडले सन् २०१८ मा ३२ जनाभन्दा धेरैको हत्या गरेको थियो । त्यसैले भनिन्छ, ‘अर्धसत्य समाचारले दिमागको पुरै स्वतन्त्रता लिएर जान्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*