September 26, 2021

आन्तरिक उडानमा सबैभन्दा ठूलो :यती एयरलाइन्स

कार्तिक ११, काठमाडौं

नीजि क्षेत्रको यती एयरलाइन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारीमा छ ।
सहरी क्षेत्रमा उडान गर्दै आएको यती र दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा एयर चाँडै मर्ज हुँदैछन्। आन्तरिक उडान थप बलियो बनाउने उद्देश्यले दुई कम्पनी गाभ्ने निर्णय भएको यती एयरलाइन्सका बरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले बताए ।
दुवै कम्पनीका सञ्चालक एकै हुन्, आङछिरिङ शेर्पा। उनको लगानीको यती वर्ल्डसँग अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्समा ५१ प्रतिशत सेयर छ।

सन् २०१९ भित्र यती र तारा गाभेर एउटै बनाइसक्ने राईले जनाए। दुई कम्पनीलाई गाभेर आन्तरिक उडानमा सबैभन्दा ठूलो खेलाडी बन्न यतीले काम गरिरहेको हो। हाल यतीसँग ३ एटिआर र ६ जेट स्ट्रिमगरी ९ वटा विमान छन् । तारासँग ६ वटा विमान छन् । दुवै कम्पनी गाभिँदा कूल १५ विमान हुनेछन्। आन्तरिक उडान गर्ने अन्य वायुसेवा कम्पनीसँग यति धेरै विमान छैनन् । त्यसमा चार वटा एटिआर थपिँदा १९ विमान हुनेछन् ।

सन् २०१९ मै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आएपछि त्यसलाई हब बनाउने र क्षेत्रीय उडान सञ्चालन गर्ने यतीले तयारी गरिरहेको छ । त्यसअघि कम्पनी गाभिसक्ने प्रवक्ता राईले बताए।

सन् १९९८ मा २ वटा ट्विनअटर विमानबाट व्यवसायिक उडान सुरु गरेको यती हाल आन्तरिक उडानको एउटा सशक्त वायुसेवा कम्पनी हो । सुरुका दिनमा यतीले एभरेस्ट एयर, नेपाल एयरवेज, नेपाल वायुसेवा निगमसँग प्रतिस्पर्धा गरेको थियो । पछिल्लो समय यतीको मुख्य प्रतिस्पर्धा बुद्धसँग देखिन्छ।

ट्रेकिङ, हेलिकोप्टर, होटल, रिसोर्टमा समेत लगानी गरेको यती समूहले चलाइरहेको यो वायुसेवा कम्पनीका विमान लगातार दुर्घटनामा परेपछि सन् २००९ मा दुर्गम र सुगममा फरक फरक ब्रान्डमा उडान गर्न थालिएको थियो। त्यसयता सुगम क्षेका मुख्य सहरमा यती र दुर्गममा ताराले उडान गर्दै आएका छन्।

व्यवस्थापन चुस्त बनाउन दुर्गम र सुगम क्षेत्रमा उडान गर्न छुट्टाछुट्टै वायुसेवा कम्पनी दर्ता गरेका थियौं’, २० वर्षदेखि कम्पनीमा कार्यरत प्रवक्ता राई भन्छन्, ‘यतीको भगिनी कम्पनीको रुपमा तारा सञ्चालन हुँदै आएको छ ।

हाल यतीले मुख्य रुटका ८ गन्तव्यमा र ताराले दुर्गमका ९ गन्तव्यमा उडान गर्छ। यो बाहेक यतीका विमान माउन्टेन फ्लाइटमा पनि उड्छन्।
७४८ सिटको लक्ष्य

राईका अनुसार हाल यतीले माउन्टेन फ्लाइटसहित दैनिक ३० भन्दा बढी उडान गरिरहेको छ। ६ वटा जेटस्ट्रिमबाट तुम्लिङटार, जनकपुर, भरतपुर, भैरहवा, नेपालगञ्ज उडान हुन्छ। त्यसैगरी तीन वटा एटिआर ७२ विमानले भद्रपुर र विराटनगरमा उडान गरिरहेका छन्। दैनिक ६ वटा माउन्टेन फ्लाइट गर्ने यतीले पर्यटकीय सहर पोखरामा दैनिक १० उडान गरिरहेको प्रवक्ता राई बताउँछन्।

यतीले उडान गर्दै आएको एटिआर विमान ७२ सिट क्षमताको र जेटस्ट्रिम ३० सिट क्षताको हो। ‘बजार विस्तार गर्न ७२ सिटे एटिआर २ र ४७ सिटे एटिआर २ वटा थप गर्न लागेका छौं,’ राईले भने, ‘नयाँ आउने एटिआरबाट सिमरा र धनगडी उडान गर्ने योजनामा छौं।

१९–१९ सिटको ४ ट्विनअटर, २ ड्रोनियर विमानबाट ताराले ९ गन्तव्यमा ३० भन्दा बढी उडान गर्छ। एकै पटक १ सय १४ यात्रुलाई ताराले सेवा दिन सक्छ। फाप्लु, लुक्ला, जोमसोम, दुनै, जोमसोम, सिमरा, बाजुरा, रारा र बझाङमा ताराले उडान गर्दै आएको छ। यी बाहेक ताराले चार्टर सेवा समेत प्रदान गर्छ।

यति र तारा गाभिँदा १५ विमान र ५ सय १० सिट क्षमता हुनेछ। थप हुन लागेका ७२ सिट क्षमताका दुई र ४७ सिट क्षमताका २ गर्दा यतिसँग कूल ७४८ सिट क्षमता पुग्नेछ।
बुद्ध एयरसँग ११ विमान ६ सय ८ सिट संख्या छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*