May 15, 2021

घरघरमा ग्यासको पाइप होइन विजुलीको तार : प्रधानमन्त्री केपी शर्मा ओली

कार्तिक ६, काठमाडौ

साझा यातायातले दुई वटा विद्युतीय बसको सेवा सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा मुख्यालय पुल्चोकमा बेलुन उडाएर इलेक्ट्रिक बस सेवा आरम्भ गरेका हुन् ।

जैविक इन्धनको प्रयोग घटाउँदै विश्व इलेक्ट्रिक उपकरणतर्फ गइरहेको सन्दर्भमा साझाले नेपालमै पहिलो पटक इलेक्ट्रिक सार्वजनिक बस आरम्भ गरेको हो । चिनियाँ कम्पनी बिवाइडीका ती बसहरू एशियाली विकास बैंकको सहयोगमा पर्यटन मन्त्रालयले साझालार्इ प्रदान गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना समेत सार्वजनिक गरे । विद्युत प्राधिकरणले २० ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले उर्जामा अबको भविष्य विद्युत केन्द्रित हुने बताए ।

ओलीले प्रत्येक घरको चुलोचुलोसम्म बिजुलीको तार पुर्‍याउने योजना सुनाएका छन्। यसअघि चुलोचुलोमा ग्यासको पाइप पुर्‍याउने योजना सुनाएका प्रधानमन्त्री ओलीले अब बिजुलीको तार पुर्‍याउने योजना सुनाएका हुन् ।

आफूले यसअघि प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप पुर्‍याउने बताएको स्मरण गर्दै ओलीले भने,‘अब ग्यासको पाइप हैन बिजुलीको तार हरेकका घरको चुलो चुलोमा पुर्‍याउने छौँ ।

बिजुलीको तार हरेकका घरघरमा पुर्‍याउने तयारी सरकारले गरिरहेको बताउँदै ओलीले भने,‘पहिले मैले ग्यास पाइप घरघरमा पुर्‍याउछु भन्दा अनौठो मानियो, अब बिजुलीको तार घरघरमा पुर्‍याउँछु भन्दा कसैले भिन्न अनुभव गर्नु पर्दैन ।

कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत साझाको विद्युतीय बस चढेर पुल्चोकदेखि सिंहदरबारतर्फ लागेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*