September 23, 2021

पोखरामा बास बस्ने मोदीको रहर पूरा भएन

काठमाडौं  । तेस्रोपटक नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पोखरामा बास बस्ने योजनामा थिए । तर, नेपाली पक्षको जोडबलका कारण उनको रहर अपुरो हुने भएको छ ।

छिनछिनमा परिवर्तन भइरहने मौसम र पोखराको सुरक्षा प्रबन्धबारे नेपालले अडान लिएपछि पोखरामा बास बस्ने मोदीको योजनामा हेरफेर भएको हो। ‘भारतीय पक्षले बास बस्नका लागि पोखरा प्रस्ताव गरेको थियो, सायद मोदीकै इच्छाअनुसार त्यस्तो प्रस्ताव आएको हुनुपर्छ।’ –परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।

नेपालले व्यावहारिक पक्षबारे भारतीय पक्षलाई प्रस्ट्याएपछि मोदी काठमाडौंको बौद्धस्थित हायात होटलमा बास बस्नेछन् । आगामी शुक्रबार भारतको विहार हुँदै सोझै जनकपुर पुग्ने मोदी त्यहाँको धार्मिक र अन्य कार्यक्रममा सहभागी भएर काठमाडौं आउने र फेरि साँझ पोखरा पुग्ने भारतले प्रस्ताव गरेको थियो।

भारतीय प्रधानमन्त्री मोदी पोखरा बस्ने योजनाबारे जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले त्यसबारे आफूले कुनै जानकारी नपाएको बताए । ‘मैले त्यस्तो खबर सुनेको छैन, अनौपचारिक गतिविधिबारे म ‘अपडेट’ हुन पाएको छैन।’ –उनले भने ।

दुई दिने नेपाल भ्रमणमा मोदीको सुरक्षार्थ चारवटै सुरक्षा निकायका ११ हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन्। मोदीको भ्रमणको सुरक्षालाई लिएर भारतीय सुरक्षा निकायको विशेष टोली भ्रमण स्थलको रेकीमा नियमित जुटिरहेको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*