May 15, 2021

प्रतिनिधि सभा र प्रदेश सभाका लागि नवनिर्वाचित सदस्यहरुलाई होटल संघद्वारा बधाइ

पोखरा, १ पुस ः पश्चिमाञ्चल होटल संघ पोखराले शनिबार कास्की जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि नवनिर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना प्रकट गरेको छ ।

पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य रवीन्द्र अधिकारी, जगत विश्वकर्मा तथा प्रदेश सभा सदस्यहरु मनवहादुर गुरुङ, राजीव पहारी, रामजी बराल र विन्दुकुमार थापालाई बधाई तथा सम्मान प्रकट गरिएको थियो । सो अवसरमा बोल्दै सभासदहरुले वृहत पोखरा र समग्र जिल्लाको पर्यटन विकासमा आफूहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता प्रकट गरे ।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य राजीव पहारीले प्रदेश सभा मार्फत् आफूले पर्यटनमैत्री नीति निर्माणमा सघाउले बचनबद्धता प्रकट गरे । हिमागृहलाई सरकारी आवासको रुपमा प्रयोग हुनबाट रोक्ने बताउँदै उनले भने– राजा बसेको ठाउँमा जनताको प्रतिनिधि बस्नुपर्छ भन्ने शोच हो भने त्यो गलत हो ।
पोखरालाई औपचारिक रुपमै पर्यटनको राजधानी घोषणा गर्न, यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन र गैरआवासीय नेपाली समुदायसँग मिलेर सार्वजनिक निजी साझेदारी अवधारणामा फेवा तालको संरक्षण गरी यसको क्षेत्रफल विस्तारमा आफू लाग्ने उनले बताए । राजनीतिक अस्थीरता अव अन्त्य हुने बाटोमा गएको भन्दै उनले अस्थिरताबाट अव पर्यटन क्षेत्र प्रभावित हुने अवस्था नआउने बताए ।

यसैगरी कास्कीका अर्का प्रदेश सभा सदस्य मनबहादुर गुरुङले पर्यटन व्यवसायीसँग पर्यटन क्षेत्रलाई कस्तो बनाउन चाहेको हो लिखित जानकारी दिन आग्रह गरे । पर्यटन व्यवसायीको अनुभव र विज्ञतालाई नीति निर्माण तहमा लैजान आफूले भूमिका खेल्ने भनाई उनको थियो । उनले अगाडी थपे– म विज्ञ पनि होइन, मैले जानेको पनि छैन, तपाईहरु पर्यटन क्षेत्रलाइ कसरी अगाडि बढाउन चाहनुहुन्छ, मलाई जानकारी गराउनुस् ।

अर्का प्रदेश सभा सदस्य विन्दुकुमार थापाले पर्यटन लगायत अन्य क्षेत्रको विकासका लागि पूर्वाधारको विकास गर्नुपर्ने बेला आएको भनाई राखे । अवको यात्रा विकास र समृद्धिको हो भन्दै उनले भ्रष्टाचाररहित अवस्था र सुशासनका लागि आफूले सधैं पहल गर्ने भनाई राखे । दलगत स्वार्थ भन्दा माथी उठी सत्ता पक्ष र प्रतिपक्ष विकासका काममा लाग्नुपर्ने भन्दै उनले पोखराको सडक स्तरोन्नती, ट्राफिक व्यवस्थापन, यो शहरलाई पर्यटकीय फिल्म सिटी बनाउने र खेलकूदको विकास गर्ने तर्फ आफ्नो ध्यान हुने भनाई राखे । अर्का प्रदेश सभा सदस्य जगत विकले पर्यटन व्यवसायीको साथ र समर्थन लिएर नै आफूले विकासका काम अगाडि बढाउने भनाई राखे । पोखरा र वरपरको क्षेत्रको समग्र विकासका लागि व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्ने पक्षमा आफू रहेको उनको भनाई थियो ।

कार्यक्रममा आयोजक संघका अध्यक्ष विकल तुलाचनले पोखरा र वरपरको पर्यटन क्षेत्रमा एक सय अर्व रुपैयाँ भन्दा बढीको लगानी रहेको जानकारी गराउँदै २५ हजार भन्दा बढी रोजगारी उक्त लगानीले सिर्जना गरेको भनाई राखे । राजनीतिक अस्थीरता, आर्थिक मन्दी, भूकम्प जस्ता कारणले पर्यटन क्षेत्र मारमा परेको बताउँदै अध्यक्ष तुलाचनले पूर्वाधारहरुको विकासमा अव आउने सरकारले ध्यान दिनुपर्ने आबश्यकता औंल्याए । सम्पदाको संरक्षण तथा पर्यटनको प्रवद्र्धन जस्ता विषयलाई समेत सँगै लिएर अगाडि बढ्नुपर्ने सुझाव तुलाचनको थियो । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले फेवा डिलको हिमागृहलाई कुनै सरकारी आवासको रुपमा प्रयोग गरिए पर्यटन क्षेत्रले आफ्नो प्रतिष्ठानको तालाचावी लएर प्रशाशनमा बुझाउने चेतावनी दिए । उनले हिमागृह जस्ता क्षेत्रको सही सदुपयोग गरी वृहत्तर हितका लागि प्रयोग गर्नुपर्ने सुुझाव राखे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*