May 16, 2021

पर्यटकीय क्षेत्रमा कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं ।

पोखरा पर्यटन समाचार
पोखरा असोज २४ जातिय संस्कृतिको संरक्षण, सांस्कृतिक पहिचानको जर्गेना र पर्यटन प्रवद्र्धनका लागी अति सहयोगी यो घर जाडो याममा तातो र गर्मीमा शीतल हुने घुमाउरो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र छानो हाल्न झण्झट हुने भएपछि लोप हुन लागेको हो । खर र डाँडाभाटा बढी लाग्ने, उज्यालो कम, झ्याल नहुने र धुवाँ बढी हुने गरेकाले पनि मानिसमा कुडुले घरप्रतिको आकर्षण कम हुदैँ गएको भनाइ छ । पहिला पातीमा माटाले लिपेर घुमाउरो बनाउने चलन रहेकामा अहिले ढुंगा माटाले पर्खाल उठाउने चलन रहेको स्थानीयवासी बताउँछन् । ग्रामीण क्षेत्रमा यसको महत्व कम भए पनि शहरी क्षेत्रमा भने बढेको छ । होटल तथा रिसोर्टमा कुडुले घरका नमुना देख्न पाइन थालेको छ । मेला तथा महोत्सवमा समेत कुडुले घरको झल्को पाइन्छ ।

गोलोघर अर्थात कुँडुलेघर । पहिले पहिले आर्थिक स्रोत कम हुने परिवारले सिठाले बारी माटोको लेवन लगाएर कुँडुले घर बनाउने गर्दथे । अहिले प्राय धनीमानीले सोखले यस्तो आकारमा घर बनाउने गर्दछन्

परम्परागत कुँडुले घर ढुङ्गा र माटोको गारो लगाएर बनाइन्छ । कुँडुले घर एक तले मात्र हुन्छन् । मगर समुदायको बस्तीमा भेटिने यस्ता अधिकांश कुँडुले घर एक कोठे र एक तले हुन्छन् । घरको बिच भागमा ओदान राखेर बनाइएको अगेनो र त्यो अगेनोको वलिम्तै एकाघरका परिवार बसेर आगो ताप्ने चलन छ । खाना पकाउने, रोटी पोल्ने, रक्सी पार्ने कामको चुलो त्यही नै हो । खाना पाकेपछि सबै सदस्यलाई भाग लगाएको खाना अगेनोको वरिपरि बसेर परिवारले एकैचोटी खान्छन् । घञ्चमञ्च राखिएका भाँडाकुँडा र सरसामानले घर भरिभराउ देखिन्छ । खरको छानो त्यसमाथि केवल एउटा ढोका र एउटा सानो खिट्की जस्तो झ्यालबाट छिर्ने प्रकाश कति पो हुन्छ र रु अँध्यारैअँध्यारोमा जीवन गुजारा चल्छ । बाहिरबाट आएका मानिस घरभित्र पस्दा वा अगेनामा बसिरहेका मानिस ढोकाबाहिर निस्कदाँ आँखा तिरमिरतिरमिर हुन्छ ।

झ्याल–ढोका कम हुने, हावा ओहोरदोहर नहुने र अगेनाको आगो कहिल्यै नभिभ्ने हुँदा यस्ता घर न्यानो हुन्छ । घरको भित्तामा काठको मोटामोटा किला ठोकेर सामान, कपडा तर्लाङ्गतुर्लुङ्ग झुण्डिएका हुन्छन् । सुत्दा ओड्ने ओछ्याउने कपडा खातमाथि खात लगाएर राखिन्छ । मान्छेलाई जे कुरा पनि चाहिने भएकाले प्रत्येक कुँडुले घरले बाहिर गोलो गरी पालि गाँसेका हुन्छन् । पालीको छानोमा मकैका झुत्ता, झुण्डयाउने र तल ढिँकी–जाँतो गाड्ने प्रचलन छ । पिँढीको छेउमा धुम हुन्छ, जहाँ प्रशस्त कुखुराहरू पालिन्छ । दैनिक रूपमा रातो माटोले लरक्क लिपेका मजेरी र पिँढी धुमबाट निस्केका कुखुराले ठुँगेर ओदार्छन् र दिनभरिमा लिपेनलिपेको गराउँछन् । घरको भित्तो भने समयसमयमा लिपिन्छ, भित्तोमा धर्का तानेर वा कोतरेर लेनदेनको हिसाव राख्ने गरिन्छ । टाढाबाट हेर्दा गुजुमुज्ज देखिने बस्तीमा घरका छानोहरू जोडिएका हुन्छन् । एकतले घर रातो माटोले लिपिन्छ, केहीकेही घरले मात्र कमेरो लगाएर सेतो बनाउँछन् । पहिलोपटक देख्ने व्यक्तिले यस्तो घरलाई मन्दिर जस्तो, धान स्याहार्ने बेला मंसिरमा खेतमा बनाइने घोल्की जस्तो भनेर तुलना गर्दछन् । समाज विकासको क्रममा खुबै चलेका यस्ता घर अहिले दुर्लभ र लोपप्रायः हुन पुगेका छन् । यस्तो घरमा बस्नेहरू पारिवारिक सल्लाह, समझदारी र एकताको दृटान्त बन्थे । संयुक्त परिवारभित्र मेलमिलाप र विश्वास सदैव कायम रहन्थ्यो । पहिलो, दोस्रो र तेस्रो पुस्ताका बिचमा हार्दिक सम्बन्ध हुन्थ्यो र समाजका मूल्य–मान्यता, संस्कृति सहजै हस्तान्तरण हुन्थ्यो ।

सोझा नेपाली र सरल नेपालीपन सहजै झल्किन्थ्यो । कुँडुले घर हिजोआज नयाँ बन्न छाडेका छन् । माटोका घर धमाधम भत्काइदैँछ । खरको छानो जसरीतसरी उधारिदैछ । नयाँ निर्माण गर्ने कुरा परै जावस् बचेखुचेका घरहरू पनि टिनको छानो हाल्ने क्रमसँगै हराउँदैछन् । स्थानीय स्रोत र जनशक्तिबाट बनेका कुँडुले घर भत्काएर विदेशबाट आयात गरिएका सामाग्री र बाह्य श्रम लगाएर महंगो घर बनाउने होड सुरु भएको छ । टिनले छाएको चारपाटे घर त्यो पनि एक्लाएक्लै बस्ने अवस्था आएको छ । घर जोडिए तापनि पारिवारिक नातासम्बन्ध जोडिएको छैन । नाता जोडिए पनि मन जोडिएको छैन । आफन्तभन्दा पराईसँग हेलमेल बढेको छ । आफन्त टाढा र पराई नजिक ठान्ने परिवेश भित्रिएको छ । समाज एकल परिवार, निजात्मक जीवनतर्फ पुगेको छ । झुरुप्प बस्ती, जोडिएको आँगन र कुँडुले घर केवल परम्परागत संरचना मात्र थिएनन्, यिनीहरू मौलिक रूपले चिनिएका सामाजिक साँस्कृतिक स्वरूप थिए । वंशपरम्परा र कुलपरम्परा संझदा जोगिएका सामूहिकता र सामाजिक भावना थिए । कुँडुले घर नाश हुँदा परम्परागत घरहरू मात्र लोप भएका छैनन् पर्यटकीय आकर्षण बोकेका सम्पति खत्तम हुँदैछन् ।

नेपालका जिल्लाहरुमा कुन कुन स्थानमा कुँडुले घर कति छन् रु कुँडुले घर रहेका गाउँ कहाँ कहाँ छ रु कुँडुले घर बनाउन चाहने व्यक्ति तथा परिवार को को छन् जिल्लागत तथ्यांक संकलन गर्ने र त्यो तथ्यांकमा आधारित रहेर संरक्षणको कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।

कुँडुले घर बनाउने परिवारलाई कुल लागतको कम्तिमा २५ प्रतिशत रकम प्रोत्साहन स्वरूप उपलब्ध गराउने, सो क्षेत्रलाई कुँडुले घर संरक्षित क्षेत्र तोक्ने र ‘घरबास’ पर्यटकीय क्षेत्र घोषणा गर्ने गर्नु पर्दछ । जिल्ला विकास समितिले कुँडुले घर आवास कार्यक्रम सञ्चालन गरी यस्ता गाउँ पालिकालाई प्रोत्साहन गर्न सक्छ । कुँडुले घर संरक्षित कार्यक्रम गर्ने गाउँ पालिकालाई केन्द्रीय र जिल्ला योजना बनाई थप रकम पठाउने, पर्यटन प्रवद्र्धनका लागि अग्रसर गाउँ पालिका, स्थानीय युवा क्लब, आमा समूह, विद्यालयहरूलाई सहयोग प्रदान गर्ने विभिन्न कार्यक्रम ल्याउन सकिन्छ । जिल्लास्थित सरकारी कार्यालय र गैरसरकारी कार्यालयले आफूले प्रवाह गरेका सेवा त्यो गाउँमा लगेर आधारभूत आवश्यक्ता भएको गाउँको रूपमा घोषित गर्न सक्दछन् ।

सामाजिक–सांस्कृतिक पक्षलाई नजरअन्दाज गरी सञ्चालन गर्ने ग्रामीण पर्यटनले न कुँडुले घरको संरक्षण हुन सक्छ, न स्थानीय जनताले पर्यटनबाट लाभ पाउन सक्छन् । सामुदायिक पर्यटन र ग्रामीण पर्यटनलाई जोड्ने हो भने पुरानत संस्कृतिको जर्गेनामा ध्यान दिन जरुरी छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*