September 23, 2021

यति एयरलाइन्सले ल्यायो ७२ सिटे नयाँ ‘एटीआर’ विमान

काठमाडौं ७ साउन । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो ।

एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ्नो बजारलाई तल झन नदिने रणनीतिका साथ एटीआर विमानहरु ल्याउने अनुमति पाएको थियो ।

यतिले एटीआर ७२-५०० सिरिजको विमान ल्याएको कम्पनीका म्यानेजर भीमराज राईले  बताए । यसले ९ एन-एएमएन कल साइन पाएको छ । ७२ सिट क्षमताको यो विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ ।

अबको एक महिनापछि कम्पनीको अर्को एटीआर पनि काठमाडौं आइपुग्ने राईले बताए । सिंगापुरको एजेन्टमार्फत करिब एक अर्ब लगानी गरेर यतिले एटीआर ७२-५०० ल्याएको जनाएको छ । यो विमानमार्फत भैरहवा, नेपालगञ्ज विराटनगर, भद्रपुर लगायतका प्रमुख गन्तब्यहरुमा उडान गर्ने योजना कम्पनीको छ ।

कम्पनीले अब एक वर्षभित्र थप २ वटा एटीआर ल्याउनेछ । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ । यतिले अहिले ३० सिटे जेटस्ट्रिम-४१ सिरिजका ६ वटा विमान चलाइरहेको छ ।

अब जेटस्ट्रिमसहित एटीआरमार्फत पनि सेवा विस्तार गर्दै जाने म्यानेजर राईले बताए । अहिले बुद्धसँग ४ वटा एटीआर छन् । यतिले ल्याएको यो विमान नेपालको ‘योंगेस्ट एटीआर’ भएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*