May 8, 2021

हामीले टेकेपछि सगरमाथाको उचाइ झनै बढ्यो’

तस्बिरः अनिश रेग्मी

आफ्नो समुदायका हरेक पुस्ताले ‘हाम्रो निम्ति कुनै काम असम्भव छैन’ भन्ने जुन आत्मबल पाउनेछन् त्यो नै यो आरोहणको सबैभन्दा ठूलो उपलब्धि रहेको प्रकाश सुन्दास सुनाउँछन्।

समाजले साहस र शक्तिका कामबाट सदैव पर राखेर हेप्दै आएको दलित समुदायले पनि सगरमाथा शिखरमा आफ्नो नाम दर्ज गराएको छ।

दुई फरक टोलीमा रहेर एकै दिन अर्थात् जेठ ८ गते सर्वोच्च शिखरमा पाइला राखेका प्रकाश सुन्दास र विजय घिमिरे विश्वकर्मा वषौंदेखिको सपना पूरा भएपछि यतिबेला काठमाडौं आइपुगेका छन्। उनीहरूका अनुसार यसअघि सगरमाथाको शिखरतर्फ कुनै पनि दलितको पाइला लम्किएको समेत थिएन।

‘शिल्पबाहेक बौद्धिक क्षेत्रमा हाम्रो उपस्थिति बढिरहेको थियो,’ बुधबार यी दुवै आरोही खुसीले दंग पर्दै भनिरहेका थिए, ‘अब मानिसले हामीलाई साहस र हिम्मती जातिका रूपमा पनि चिन्नेछन्।

सगरमाथाको फेदी लुक्लामै जन्मे–हुर्केका ३१ वर्षीय प्रकाशले शेर्पा साथीहरूसँगै माध्यमिक तहसम्मको पढाइ गरेका थिए।

‘सँगै पढेका साथीहरूको परिवार र तिनका आफन्तको हिमालतिर आवतजावत देख्दा जहिले पनि उत्सुकता जाग्थ्यो,’ प्रकाश भन्छन्, ‘त्यही ठाउँमा जन्मे–हुर्केको मलाई यो हामीले गर्ने काम होइन भनेर सम्झाउने गरिन्थ्यो।’

सबैले सगरमाथा चढ्नु गौरवको कुरा हो भनेको सुनेपछि उनको मनमा भित्रैदेखि एकदिन यो गौरवका लागि आफूले पनि प्रयास गर्ने सपना हुर्किएको थियो।

प्रकाशको सपना साकार पार्ने पहिलो खुड्किलो सगरमाथा आरोहणको स्वर्ण वर्ष मनाइँदाको क्षण बन्यो। त्यतिबेला प्रथम आरोही हिलारीका सन्तानको उपस्थितिमा तेङबोचे उत्सवमय भएको थियो। दिनभरि परम्परागत बाजा, नाचगान र बौद्धपूजा चलेको थियो।

‘त्यो अवसर निम्ति लुक्लाबाट केही पर्यटक तेङबोचे पुग्न चाहन्थे,’ प्रकाशले भने, ‘मैले गाइडका रूपमा पहिलोपटक उनीहरूलाई लैजाने काम पाएको थिएँ।’

उनले त्यतिबेलै सगरमाथालाई नजिकबाट देखे। अठोट झनै बढ्यो। तर, आँटेर मात्र पुग्ने कुरा थिएन। कम्तीमा ३०–३५ लाख रुपैयाँ नजुटाइ सगरमाथा चढ्न सकिँदैन थियो।

यता तालिम लिने काम धमाधम सुरु गरे।

‘ट्रेकिङ, रक, रेस्क्यू, आइस, आरोहणका बेसिक र एड्भान्स गर्दै मैले जतिवटा तालिम भेटेँ, ती सबै गर्दै आएँ,’ उनी भन्छन्, ‘त्यसपछि कम्पनीको गाइडकै रूपमा पर्यटकहरू लिएर छ हजार मिटर अग्ला हिमाल चढ्न सुरु गरेँ।

उनी कार्यरत ‘माउन्टेन मोनार्क’ कम्पनीकै तर्फबाट यसरी चढ्न सुरु गरेका प्रकाशले खुम्बु वरपरका छ हजार मिटरभन्दा अग्ला सबैजसो चर्चित शिखर प्रत्येकको २० पटकभन्दा बढी आरोहण गरिसकेका रहेछन्। खुम्बु मात्र होइन, अन्नपूर्ण, लाङटाङ र रोल्वालिङ क्षेत्रका पनि थुप्रै साना शिखर उनले आरोहण गरिसकेका छन्।

यति गरिसकेपछि सरकारले नै सगरमाथामा दलितलाई पुर्याउने भनेर दुई करोड बजेटसहित एउटा टिम बनाएको थियो, त्यसमा सरिक हुन प्रकाशले कोशिस गरे।

‘तर, मलाई त्यसमा राखिएन,’ प्रकाश भन्छन्, ‘त्यो राजनीतिक तवरबाट भएको बेग्लै नाटकजस्तो थियो, जसमा सरिक भएकाहरूले आधारशिविरमा पनि पाइला नराखेरै समाप्त भयो।

यस्तो अवस्थामा प्रकाशले आफूलाई माया गर्ने लुक्लाका दाइ छिरिङ निमा शेर्पाको ‘हिमालयन ट्रेल ब्लेजर’ कम्पनीले यसै वर्ष सगरमाथामा विदेशी आरोही लैजान थालेको सुइँको पाए।

‘मैले दाइलाई भेटेर आफ्नो समुदायको कुरा र मेरो सपना सुनाएँ,’ उनले भने, ‘दाइले कुरा सुनिसकेपछि हुन्छ भनेर जवाफ दिनुभयो।

त्यसपछि प्रकाशलाई टिममा समावेश गरियो। उनको टिमले छ जना अमेरिकी र स्विडेनका आरोही लिएर गएकामा दुई जनाले नसकेर बीचबाटै फर्किए। टिमका चार जना विदेशी र पाँच जना नेपालीले भने पहिलो प्रयासमै सफलता हात पारेर मे २२ तारिखको दिन बिहान साढे नौ बजे शिखरमा पाइला टेकेको थियो।

सगरमाथामा प्रकाशभन्दा केही घन्टा मात्र पहिले पाइला टेकेका विजयको कथा पनि उस्तै रोचक छ।

तल सोलुमा जन्मे–हुर्केका विजय पर्यटकहरूको लश्करबाट मोहित भएर १६ वर्षकै उमेरमा लुक्ला उक्लिएका थिए।

‘मेरो परिवारका बाँकी कसैलाई पर्यटन क्षेत्रसँग मतलबै थिएन,’ आठ सन्तानमध्ये माइला २७ वर्षे विजय भन्छन्, ‘म चाहिँ हामी विश्वकर्माहरूले गर्दै आएका परम्परागत काममा सीमित नरहेर केही बेग्लै गरौं भन्ने सोच्थेँ।

यस्तोमा उनले १६ वर्षकै उमेरदेखि सगरमाथा क्षेत्रका पदयात्रीको भरिया बनेर अग्ला डाँडा उक्लन सुरु गरे।

‘हिजोआज त भरियाको पनि हकअधिकारको कुरा गरेर ३० किलो मात्र बोक्नुपर्ने गरी सजिलो पारिएको छ,’ आफ्नो समयको जटिलता तुलना गर्दै उनले भने, ‘मैले त्यतिबेलै ४५ किलो बोकेर अग्ला पासहरू नाघ्नुपर्थ्यो।

चार वर्ष खुम्बु क्षेत्रमा काम गरिसकेपछि विजयले भवन निर्माणसम्बन्धी काम सिके। काठमाडौं आएर गोपीकृष्ण सिनेमाको छेउमा फर्निचर पसलमा समेत काम गरे।

‘निर्माणका क्षेत्रमा मैले नजानेको काम केही छैन,’ उनी गर्वसाथ भन्छन्, ‘मैले जानेको सीपले गर्दा नै मलाई सगरमाथासम्म पुग्न सघाउ पुर्याएको हो।’

विजयका अनुसार सगरमाथा आधारशिविरमा पर्यटकहरुलाई अनुकूल बनाउन त्यहाँ उपलब्ध ढुंगाकै फर्निचर तयार पार्नुपर्थ्यो।

‘मभन्दा पहिले पुगेकाहरूले जसोतसो कामचलाउ बनाउँथे,’ उनी भन्छन्, ‘ढुंगाको सीप राम्ररी जानेको मैले त सहरबजारकै जस्तो चिटिक्क र बलियो भान्छादेखि फर्निचरसम्म तयार पारिदिएँ।

त्यसबाहेक भरिया त छँदै थिए।

एकपटक जानेबित्तिकै आरोहण टिमलाई सघाउने मुख्य कुकले ‘यो मान्छे त हामीलाई पो चाहिने रहेछ’ भन्न थाले।

यसरी उनी आधारशिविरमा नियमित पुग्न थाले। त्यहाँ सबै जना सगरमाथा चढ्दै र ओर्लँदै गरेको देखेपछि विजयलाई आफू पनि शिखरमा पुगौं पुगौं लाग्न थालेछ।

‘हाम्रा समुदायका मान्छे न तल शानले बाँच्न पाएका छन् न माथि,’ उनले भने, ‘लौ त भने यो हिमाल चढेर भए पनि म देखाइदिन्छु भन्ने आँट पलाउन थाल्यो।’

उनले यो कुरो टिमका साथीहरूलाई सुनाए। तर, सबैले सगरमाथा आरोहणका लागि आफैंले खर्च नलगाउने हो भने सम्भावना कमै रहेको सुनाए।

त्यसपछि विजय खुम्बु छाडेर तल ओर्लिए। चिनेजानेका नेतादेखि लिएर सामाजिक अगुवासम्म सबैलाई भेटेर आफ्नो निम्ति सहयोग जुटाइदिन अनुरोध गरे।

२०७१ पुस ११ गते सल्लेरीमा उनको आरोहण निम्ति आयोजना गरिएको कार्यक्रमलाई सोलुखुम्बुकै सिडिओले उद्घाटन गरिदिए। कार्यक्रम भव्य भयो, तर पैसा चाहिँ उठेन।

विजयले हरेश खाएनन्। काठमाडौं आए र दलित आयोगदेखि लिएर थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाको ढोका चहारे। तर, सहयोग कतैबाट मिलेन। हिमाल चढ्न सक्दै नसक्नेहरूलाई समेटेर २ करोड सहयोगको घोषणा गर्ने सरकारले पनि उनलाई सहयोग गर्न नसक्ने जवाफ दियो।

त्यसपछि विजयले नेपाली कांग्रेसका स्थानीय नेता राजन विश्वकर्मालाई समाते। राजनले विजयलाई लिएर मुलुकका विभिन्न भाग लगे।

उदयपुरमा १५ हजार उठेको थियो भने धरानमा सुनचाँदी व्यवसायीहरू मिलेर ७० हजार जति दिएका थिए,’ उनी भन्छन्, ‘यसरी पैसा त उठ्यो। तर, जति पैसा उठेको थियो त्योभन्दा बढी विभिन्न ठाउँ घुम्दाघुम्दै खर्च हुन थाल्यो।

यसरी पनि पार लाग्ने रहेनछ भन्दै विजय त्यसपछि फेरि सोलुखुम्बु नै पुगे। उनले यतिञ्जेल व्यक्तिगत हिसाबले सरकारी अनुमतिपत्र निकालेर चढ्ने प्रयास कामलाग्दो रहेनछ भन्ने बुझिसकेका थिए। त्यसैले फेरि कम्पनीलाई फोन गरे।

उनलाई भरियाका रूपमा आरोहणको अवसरसहित बोलाइयो। उनी कुदाकुद पुगे। उनको टोली आधारशिविर पनि गयो। तर, त्यहाँभन्दा उकालो लाग्ने प्रयास गरिरहेकै बेला अचानक २०७२ वैशाख १२ गतेको महाभूकम्प आइदियो। उनी फेरि भागाभाग आधारशिविरबाटै फर्किए।

त्यसको केही समयपछि अघिल्लो कम्पनीमा सँगै काम गरेका पुराना साथीहरू मिलेर ‘ट्रेक नेपाल’ खोलेका रहेछन्। उनीहरूले कुनै मुस्लिम मुलुककी एक महिला आरोहीलाई क्याम्प थ्रीसम्म लैजाने काम पाएका रहेछन्। तुरुन्तै बोलाए। विजय कुदाकुद पुगे।

‘हाम्रो कम्पनीका डाइरेक्टर सागर पौडेल मेरानिम्ति देउता हुनुहुन्छ,’ उनले गुन सम्झिए, ‘सबैभन्दा बढी उहाँले नै मलाई माथि उक्लने टिममा राखेर सघाइदिनुभएको हो।’

त्यतिञ्जेल विजयलाई चिनेजानेका अन्य ‘दाइहरू’ले कसैले जुत्ता त कसैले ज्याकेट दिएर सहयोग गरिसकेका थिए। केही उपकरण उनले भाडामा पनि लिए। यसरी सबैतिरबाट भरथेग पाएका विजयको पनि अठोट बढ्यो। उनले ती महिला आरोहीलाई सफलताका साथ क्याम्प थ्रीसम्म लगेर फर्काइदिए।

त्यसलगत्तै अल्बानियाको एक आरोहीलाई सगरमाथा शिखरै लैजाने टोलीमा विजय सरिक भए। छ सदस्यीय टोलीमा पाँच जना सहयोगी नेपाली नै थिए।

उनीहरू पाँच दिनअगावै अर्थात् १७ तारिखकै दिन शिखरमा पुग्ने हिसाबले हिँडेका थिए। तर, मौसमले साथ दिएन। तीव्र हावाहुरीले डोरी समातेकै मानिस पनि उडाएर पर लगिरहेको थियो।

उनीहरू फर्केर क्याम्प टुमा आए। क्याम्प टुमा पनि रासन सकिएपछि आरोहीलाई माथि नै राखेर विजय आधारशिविर झरे।

यसरी अन्तिममा २२ तारिख बिहान १ बजे साउथकोलबाट उक्लेपछि बिहान पाँच बजेर पाँच मिनेटमा उनीहरूको टोली शिखरमा पुगेको थियो।

‘शिखरबाट तल हेर्दा अन्धकारै देखिन्थ्यो,’ विजय सम्झन्छन्, ‘माथि चाहिँ झलमल्ल उज्यालोमा उता तिब्बततिरबाट पनि चढेर आएका आरोहीका कारण शिखरमा ठूलै भीँड लागिसकेको थियो।

‘त्यहाँ अंगालो मार्नेहरूको मुहारमा अश्रुधारा पनि देखिरहेको थिएँ, यसअघि शेर्पा पर्वतारोहीहरूसँग आरोहण संवाद गर्दा नसुनिने शब्दहरू विजयका मुखबाट निस्किरहेका थिए। पत्रकारका निम्ति यो एउटा बेग्लै अनुभूति थियो जसमा प्रकाश सुन्दासले भनेको एउटा लाइन अर्थपूर्ण लाग्थ्यो, ‘हामीले पनि टेकेपछि सगरमाथाको उचाइँ झनै बढेको छ।

खुम्बुमा जन्मेकाले प्रकाशले तल सोलुका विजयभन्दा कमै भेदभाव बेहोरेका छन्।

‘तैपनि फरक त भइहाल्छ,’ प्रकाशले थपे, ‘माथि मेरै नेतृत्वमा आरोहण गर्ने र मलाई मान्ने टिमका अन्य जातिका सदस्यहरू तल सोलु पुग्दा माथिजस्तै व्यवहार गर्न अप्ठेरो मान्छन्।

त्यसो त उक्लँदै गर्दा उनलाई नचिन्ने शेर्पाहरूले उनीहरूकै भाषामा ‘यस्तो जातका मानिसलाई किन ल्याएको?’ भन्नेजस्ता तीता वचन बोलेका थिए।

‘लुक्लाको बासिन्दा म उनीहरूको भाषा बुझ्थेँ,’ प्रकाश भन्छन्, ‘तर, मैले आफूलाई आरोहणको अवसर दिने शेर्पा दाइहरूलाई सम्झेँ र केही नबोलेर चढेँ।’

आफ्नो समुदायका हरेक पुस्ताले ‘हाम्रो निम्ति कुनै काम असम्भव छैन’ भन्ने जुन आत्मबल पाउनेछन् त्यो नै यो आरोहणको सबैभन्दा ठूलो उपलब्धि रहेको प्रकाश सुनाउँछन्।

By: Setopati .com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*