September 27, 2021

जर्मन विमान कम्पनीलाई नेपालको रणनीतिक साझेदार बनाउने प्रस्ताव अर्थ मन्त्रालयमा

२५ जेठ, काठमाडौं । पर्यटन मन्त्रालयले जर्मन विमान कम्पनी लुफ्थान्सा कन्सल्टिङलाई नेपाल वायु सेवा निगमको रणनीतिक साझेदार बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि अर्थ मन्त्रालयसँग राय मागिएको छ ।

अर्थले उचित हुने राय दिएसँगै यसको फाइल मन्त्रिपरिषदमा पठाइने पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अध्ययन कार्यदलले हालै मात्रै रिपोर्ट बुझाएको छ, अर्थको रायका लागि पठाएका छौं, अर्थले हुन्छ भन्नेवित्तिकै क्याबिनेट पठाउनेछौं ।’

मन्त्रालयले नेपाल एयरलाइन्सको रणनीतिक साझेदार बन्न इच्छुक कम्पनीहरुबाट आशय पत्र माग गर्दै बन्द टेन्डर जारी गरेको थियो । उक्त बन्द टेन्डर अष्ट्रेलिया, फ्रान्स, जर्मनी, बेलायत र अमेरिकाको नेपालस्थित दुतावासमार्फत पठाइएको थियो । यसमा लुफ्थान्साले मात्रै आवेदन दिएको थियो ।

आवेदनपछि मन्त्रालयले लुफ्थान्साको प्रस्तावका बारेमा अध्ययन गरेको छ । मन्त्रालयद्वारा गठित एक मूल्यांकन समितिले सो कम्पनीलाई निगमको रणनीतिक साझेदार बन्न योग्य ठहर्‍याएको  छ । समितिले हालै मात्रै उक्त प्रस्तावका सम्बन्धमा अध्ययन गरी रिपोर्ट बुझाएको हो ।

पहिले अस्वीकृत भएको कम्पनी

सन् २०१५ मा पनि लुफ्थान्साले रणनीतिक साझेदार बन्न प्रस्ताव हालेको थियो । सुशील कोइराला प्रधानमन्त्री हुँदा लुफथान्साले प्रधानमन्त्री कार्यालयमै प्रस्ताव राखेको थियो ।

नेपाल एयरलाइन्सको सञ्चालन जिम्मा लिएवापत आम्दानीको ३ प्रतिशत रकम वार्षिक रुपमा भुक्तानी गर्नुपर्ने शर्त राखेपछि अर्थ मन्त्रालयले उक्त प्रस्ताव अस्वीकृत गरिदिएको थियो ।

लुफ्थान्साको मात्रै चासो

रणनीतिक साझेदार छान्नका लागि मन्त्रालयले विश्वका ५ कम्पनीलाई प्रस्ताव पठाएको थियो । तर, ५ मध्ये लुफ्थान्साले मात्रै चासो देखायो ।

मन्त्रालयका सहसचिव लामिछाने भन्छन् ‘जस्तो पायो त्यस्तो कम्पनीलाई साझेदार बनाउने कुरा भएन, ठूला कम्पनीले निगमसँग साझेदार बन्नै खोज्दैनन् । लुफ्थान्साले चासो देखाएकोमा खुसी हुनुपर्ने अवस्था छ ।’

यस्तो छ निगमको वित्तीय अवस्था

सरकारले हालै मात्रै प्रकाशित गरेको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ मा नेपाल बायु सेवा निगम आर्थिक वर्ष २०७२/०७३ सम्ममा १ अर्ब ८२ करोड ९ लाख सञ्चित नोक्सानीमा रहेको देखिएको छ । नेपाल सरकारलाई बुझाउन पर्ने ऋणको साँवामात्रै ५८ करोड छ भने ब्याज ४७ करोड ७६ लाख छ । जसमध्ये २८ करोड ५७ लाख ब्याजको भाका नाघिसकेको छ ।

यसले सरकारलाई रोयल्टी बापतको पनि ठुलो रकम बुझाउनु छ । गत आर्थिक वर्षसम्ममा यसले सरकारलाई १० करोड २६ लाख रकम बुझाउँनै बाँकी छ ।

निगमसँग अहिले दुईवटा बोइङ छन् । तीमध्ये बि ७५७–२०० पुरानो भएर लिलामीमा राखिएको छ भने बि ७५७–२०० एम मर्मतको लागि एक महिनासम्म सिंगापुर जान लागेको छ ।

निगमले सन् २०१५ को फेब्रुअरी र अप्रिलमा दुईवटा ए ३२० एयरबस थप गरेको थियोे । अहिले निगमले आफ्नो आर्थिक अवस्था सुधार्ने भन्दै नयाँ विमान ल्याउन लागेको छ ।

By : Online khabar

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*